डोनाल्ड ट्रम्पका भाई रोबर्ट ट्रम्पको ७२ बर्षको उमेरमा निधन
प्रकाशित मिति : श्रावण ३१, २०७७ शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोबर्ट ट्रम्पको ७२ बर्षको उमेरमा निधन भएको छ । रोबर्ट ट्रम्पको आज न्युयोर्कको अस्पतालमा निधन भएको हो ।
यसअगाडि राष्ट्रपति ट्रम्पले न्युयोर्कको अस्पतालमा भर्ना भएका आफ्ना भाई रोबर्ट ट्रम्पलाई भेटेका थिए । न्युयोर्क सिटीमा रहेको अस्पतालमा भर्ना भएका भाईलाई भेटेपछि ट्रम्पले भाईले अप्ठ्यारो अवस्थाको सामना गरिरहेको बताएका थिए ।
ट्रम्पले भाईलाई झण्डै ४५ मिनेट भेटेका थिए । ट्रम्पको भाईसँग निकै राम्रो सम्बन्ध रहेको थियो । गत जुनमा रोबर्ट ट्रम्प न्युयोर्कको माउन्ट साइनाई अस्पालमा आईसीयुमा भर्ना भएका थिए । त्यतीबेला उनी झण्डै एकसाता आईसीयुमा भर्ना भएका थिए ।
रोबर्ट ट्रम्पले हालै ट्रम्प परिवारका तर्फबाट एउटा मुद्दाको प्रतिनिधित्व गरेपछि चर्चामा आएका थिए, जुन मुद्दा राष्ट्रपतिको भतिजीले लेखेको एउटा पुस्तकको प्रकाशन रोक्नेसँग सम्बन्धित थियो । त्यो बुकका एउटा गोप्य सहमतिको उल्लंघन गरेर विषयहरु लेखिएको ट्रम्प परिवारको दावी थियो ।
रोबर्ट ट्रम्पले त्यस्तो पुस्तक लेख्ने भजितिको निर्णयप्रति आफू निकै निराश भएको बताएका थिए । उनले आफ्नो सबै परिवारले आफ्ना दाई डोनाल्ड ट्रम्पप्रति गर्व गर्ने बताएका थिए ।





