ट्रम्पबाट वीच्याट र टिकटकको अमेरिकामा लेनदेनमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी


प्रकाशित मिति : श्रावण २२, २०७७ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाइनिज एपहरु वीच्याट र टिकटकको अमेरिकामा लेनदेनमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका छन् । ट्रम्पले टिकटक र वीच्याटका सन्दर्भमा छुट्टाछुट्टै कार्यकारी आदेश जारी गरेका हुन् ।

अगस्त ६ को मितिले ४५ दिनपछि यस्तो प्रतिबन्धको कार्यान्वयन सुरु हुनेछ । कार्यकारी आदेशले यी एप्लीकेशनहरुलाई अमेरिकामा कुनै पनि लेनदेन गर्नमा प्रतिबन्ध लगाउनेछ ।

वीच्याटको लेनदेनमा प्रतिबन्ध लगाउने आदेशको पूर्ण पाठ

टिकटकको लेनदेनमा प्रतिबन्ध लगाउने आदेशको पूर्ण पाठ

अमेरिकामा १७५ मिलियन पटक टिकटकको एप्लीकेशन डाउनलोड गरिएको र टिकटकले प्रयोगकर्ताका डिभाइसबाट लोकेशन डाटा, इन्टरनेट र अन्य गतिविधिका सुचनाहरु लगायतका कैयन विवरण स्वत कपी गर्ने कार्यकारी आदेशमा उल्लेख छ । टीकटकले जस्तै वीच्याटले पनि प्रयोगकर्ताका डाटाहरु स्वत कपी गर्ने कार्यकारी आदेशमा जनाइएको छ ।

माइक्रोसफ्टले टिकटक किन्नेबारे पहल जारी राखेको बेलामा ट्रम्पको यो आदेश आएको हो । तर माइक्रोसफ्टले भने आगामी सेप्टेम्बर १५ भित्र किन्ने नकिन्ने विषय टुंगो लाग्ने बताएको छ । त्यसको झण्डै एकसातापछि टिकटकमा अमेरिकामा लेनदेन गर्न प्रतिबन्ध लाग्ने भएको छ ।

भारतमा टिकटक लगायतका कैयन एपहरुमा प्रतिबन्ध लागिसकेको छ । अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउनेबारे लामो समयदेखि विचार गर्दै आएको थियो । तर अहिले भने टिकटक र वीच्याटको लेनदेनमा प्रतिबन्ध लाग्नेगरी आदेश जारी गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com