अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स


प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार

मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ ।

लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले भारत, बङ्गलादेश, जापान र अष्ट्रेलियामा चार्टर्ड उडान ग¥यो भने चीनको ग्वान्जाओमा चार कार्गो उडान गरेको छ । निगमले क्रमशः अष्ट्रेलिया, दक्षिण कोरिया र चीनको बेइजिङमा चार्टर्ड उडान गर्दैछ । निगमले अष्ट्रेलिया र चीनमा पुनः उडान गर्न लागेको हो । आगामी वैशाख २४ गते (६ मे २०२० मा) निगमले अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्न लागिएको जनाएको छ ।
निगमका प्रवक्ता अर्चना खड्काले नेपालमा रहेका अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्ड उडान गर्ने निश्चित भएको राससलाई जानकारी दिए । निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडान गरेको थियो । उक्त उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो । जुन निगमको वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्यको उडान भरेको थियो । मलेशिया ट्रान्जिट हुँदै अष्टे«लियासम्मको यो उडान करिब १३ घण्टाको थियो ।

निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भने सिड्नीबाट फर्कदा सिधै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमका प्रवक्ता खड्काका अनुसार काठमाडौँ–सिड्नी साढे १२ घण्टाको उडान हुनेछ । काठमाडौँबाट २५० भन्दा बढी यात्रु लिएर जाने वाइडबडी फर्कँदा लोड कम हुने भएकाले सिधा सिड्नी–काठमाडौँ उडानको तालिका रहेको छ । वाइडबडी जहाज काठमाडौँबाट दिउँसो १ः३० बजे उड्ने र भोलिपल्ट साँझ ५ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ ।

काठमाडौँस्थित अष्ट्रेलियाली दूतावासको पहलमा सिड्नीमा चार्टर्ड उडान गर्न लागिएको हो । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले ट्वीटरमा सन्देश पोष्ट गर्दै अष्ट्रेलिया जहाज जान लागेकाले टिकटका लागि नेपाल एयरलाइन्समा सम्पर्क गर्न आग्रह गरेका थिए । निगमले वैशाख २४ गते नै चीनको बेइजिङमा कार्गो उडान गर्ने भएको छ । निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेको बताइएको छ । निगमको जहाज काठमाडौँबाट साँझ ५ः३० बजे बेइजिङ उडेर भोलिपल्ट फर्कनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी निगमले दक्षिण कोरियामा पनि चार्टर्ड उडान गर्दैछ । दक्षिण कोरियाको सिओलमा गत अप्रिल ३० तारिखमा चार्टर्ड उडान गर्ने भनिए पनि उडान सरेको थियो । दक्षिण कोरियाको सिओल उडान गर्ने निश्चित भए पनि कुन मितिमा गर्ने भन्ने यकिन भइनसकेको निगमले उल्लेख गरेको छ । नेपाली कामदारलाई दक्षिण कोरिया लैजान गैरआवासीय नेपाली सङ्घ कोरियाले जहाज चार्टर्ड गरेर लैजान लागेको जनाइएको छ । काठमाडौँ विमानस्थलबाट कोरियाको सिओलस्थित इङचोन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुनेछ ।

मन्त्रिपरिषद्को वैशाख १४ गतेको निर्णयानुसार इपीएस प्रणालीअन्तर्गत कोरिया काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा (भिसा) भएका हाल बिदामा रहेका नेपाली स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरुको स्वास्थ्य परीक्षण गराइ उनीहरुकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय गरेको थियो । सोहीअनुरुप कोरिया उडान गर्न लागिएको हो ।

यसरी लकडाउन अवधिमा कतार एयरपछि सर्वाधिक अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सले आठ उडान गरेको छ । कतार एयरले १० उडान गरेको थियो । निगमको पहिलोपटक चैत १६, २० र २४ गते निगमका वाइडबडी जहाजले चीनको ग्वान्जाओबाट स्वास्थ्यसामग्री ल्याएका थिए । त्यस्तै चैत २८ गते जापानको नारितामा चार्टर्ड उडान गरेको थियो । भारतको नयाँ दिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमले चार्टर्ड उडान गरेको थियो ।

हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत चैत १० देखि वैशाख १९ सम्म ४० अन्तर्राष्ट्रिय उडान भएका छन् ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com