कोभिड–१९ को शङ्का गरिएका १४ बालबालिकाको रिपोर्ट यस्तो आयो……


प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार

कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियालगायतका स्वास्थ्य समस्या उपचारपछि निको भएर घरसमेत फर्किसकेका छन् ।

ती १४ मध्ये ११ नेपाली र तीन भारतीय बालबालिका रहेको अस्पतालले जनाएको छ । कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण देखिएपछि अस्पतालले ती बालबालिकाको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा स्वाब पठाएर परीक्षण गरेको थियो ।

नौ बालबालिकाका घरमा परिवारका सदस्य विदेशबाट फर्किएकाले शङ्का गरिएको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार बिरामीका परिवार र आफन्तका बारेमा विस्तृत जानकारी लिइएको थियो । त्यस क्रममा यी बालबालिकाको परिवारका सदस्य विदेशबाट फर्किएपछि अरुको संसर्गमा नआई ‘क्वारेन्टाइन’ बसेको नपाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यी बालबालिका विदेशबाट आएका परिवारका सदस्यसँग चकलेट खाने, नजिक बस्ने पाइएकाले छुट्टै राखेर परीक्षण गरिएको हो ।”

शुरुमा आउँदा उनीहरुमा ज्वरो, खोकी, निमोनिया, श्वासफेर्न गाह्रोलगायतका समस्या पाइएको थियो । कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण भएकाले बालबालिका, अभिभावकसँगै अस्पताल आउन पनि डराएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुमा सङ्क्रमण नभएको पुष्टि भइसकेको छ र नयाँ बिरामी यस्तो लक्षणका आएका छैनन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारको निर्देशानुसार अस्पतालले कोभिड–१९ का बिरामी आउन सक्ने भन्दै आवश्यक तयारी गरिसकेको छ । अस्पतालमा ‘आइसोलेसन बेड’ तयारी रहेको र यी बिरामीलाई हेर्न चिकित्सकलाई आवश्यक पर्सनल पोटेक्टिभ इक्युपमेन्ट (पिपिई) तयारी रहेको अस्पताल निर्देशक डा पौडेलले जानकारी दिनुभयो ।

अस्पतालले विभिन्न निकायबाट आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री जोहो गरेको छ । यी पोशाक बिरामी हेर्नुपर्ने प्रथम प्राथमिकताका कर्मचारीले मात्रै प्रयोग गर्छन् । उहाँले भन्नुभयो, “कतिपय सरकारले दिएको हो भने कति हामीले खरिद गरेको र कतिपय दाताले सहयोग गरेका छन् ।”

अस्पतालले बहिरङ्ग विभाग वा आकस्मिक कक्षमा जता आएका बिरामीलाई पनि देखिएको लक्षण र उसको विस्तृत विवरणका आधारमा आवश्यक देखिँदा आइसोलेसनमा राख्ने गरेको छ । कुनै बिरामीका आफन्त कोभिड–१९ को सङ्क्रमण फैलिएको देशबाट आएको छ भने उसको विशेष निगरानी गरिन्छ ।

विदेशबाट आएकासँग नजिक रहेको कुरुवाले जानकारी दिएमा उसलाई ‘आइसोलेसन’ मा राखेर परीक्षण गरिन्छ । परीक्षणको नतिजा पोजेटिभ हुँदा थप उपचार हुन्छ भने नदेखिएमा उसमा देखिएका स्वास्थ्य समस्याको उपचार हुन्छ । यो १४ दिनबीच विदेशबाट परिवारका सदस्य आएको छ भने उसलाई कोभिड–१९ सँग मिल्दो लक्षण देखिँदा शङ्का गरिन्छ ।

अहिलेसम्म सङ्क्रमण पुष्टि भएका ६ जना विदेशबाट आएकाले पनि नेपालमै बसिरहेका व्यक्तिलाई शङ्का नगरिएको हो । उहाँले भन्नुभयो, “अहिलेसम्म यहाँको समुदायसम्म सङ्क्रमण फैलिइसकेको छैन ।”

मौसम परिवर्तनको समय भएकाले पनि बालबालिकामा सामान्य रुघाखोकी र ज्वरो आउनसक्छ । धेरै अभिभावक भने सामान्य रुघाखोकीलाई पनि कोभिड–१९ को लक्षण हुनसक्छ भनी अत्तालिने गरेका छन् । सामान्य रुघाखोकी र ज्वरोका बिरामीलाई अधिकांश अभिभावकले घरमै प्यारासिटामोल खुवाउन सक्ने उहाँको सुझाव छ । घरमा खुवाउँदा निको हुँदैन भन्ने लाग्दा पनि आफ्नो नजिकैको स्वास्थ्य संस्थामा जँचाउन सकिन्छ ।

फलोअपमा अस्पताल नआउन आग्रह

कान्ति अस्पतालले पनि अहिले तत्काल उपचार नगरी नहुने वा ठूलो समस्या आउँदाबाहेक फलोअपका लागि अहिले अस्पताल नआउन बिरामी बालबालिकाको अभिभावकलाई आग्रह गरेको छ ।

‘लकडाउन’ मा जिल्ला जिल्लाबाट वा काठमाडौँमा पनि आउन सहज नभएकाले अत्यावश्यक बाहेक अस्पताल नआउन भनिएको हो । जुनसुकै बालबालिकामा स्वास्थ्य समस्या देखिँदा ड्युटीमा रहेका चिकित्सकलाई सोध्न सकिने गरी नम्बर तय भएका छन् । अभिभावकले सामान्य रुघाखोकीलगायतका समस्या देखिएकामा ०१४४२७४४९ वा ९८४७३८६२०५ मा फोन गरेर डाक्टरसँग बुझ्न सक्नेछन् ।

त्यस्तै शल्यक्रियासम्बन्धी समस्याका बारेमा अस्पतालमा ४४४३१३१ वा ९८४७३८६१५० नम्वरमा फोन गरेर बुुझ्न सकिनेछ । उहाँले भन्नुभयो, “फलोअपका लागि बालबालिका ल्याउनुपर्दा पनि अभिभावकले पहिले यी नम्बरमा फोनबाट बुझेर आवश्यक भएमात्रै ल्याउन सक्नुहुन्छ ।” अस्पतालका प्रशासकीय अधिकृत गंगाराम गिरीले अस्पतालमा जुनसुकै समयमा सङ्क्रमित बालबालिका आउन सक्ने भनी तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।  रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com