भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सहभागी हुन पर्यटनमन्त्री अष्ट्रेलिया प्रस्थान


प्रकाशित मिति : पुस २०, २०७६ आईतबार

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन् । यही पुस २२ गते अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री गएराति त्यसतर्फ गएको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।

पुस २२ तारिखका दिन विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भका लागि पर्यटनमन्त्री अष्ट्रेलिया पुगेका हुन् । राष्ट्रमण्डल अष्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यू साउथ वेल्सको सहयोग सिडनीमा भ्रमण वर्षको भव्य समारोहबीच शुभारम्भ गरिनेछ । कार्यक्रममा गैरआवासी नेपाली सङ्घ (एनआरएनए) लगायत स्थानीय अगुवा संस्थाको सहभागिता रहनेछ । कार्यक्रममा पर्यटनमन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, नेपालको ५८औँ पटक भ्रमण गरेका अष्ट्रेलियन नागरिक क्रिस वाकर लगायतका विशिष्ट पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राजदूतावासको पहलमा अष्ट्रेलियाका ट्राभल एजेन्सीहरूले नेपाल भ्रमणको प्याकेजहरू पनि सार्वजनिक गरिसकेका छन् । त्यहाँको सबैभन्दा ठूलो ट्राभल एजेन्सी फ्लाइट क्यानबेराले प्याकेज सार्वजनिक गरेको हो । अष्ट्रेलियाबाट वार्षिक करिब ३३ हजार पर्यटक नेपाल भित्रिने गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्या दोब्बर बनाउने लक्ष्य रहेको छ । पर्यटनमन्त्री अष्ट्रेलिया रहँदा नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सञ्चालनका विषयमा पनि कुराकानी हुने प्रवक्ता तामाङले बताए । नेपाल र अष्ट्रेलियाबीच सन् २०१९ सेप्टेम्बरमा हवाई सेवा सम्झौता भए पनि अझै दुवैतर्फबाट उडान हुन सकेको छैन । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com