कालीगण्डकी नदीमा पाइने दुर्लभ शालिग्राम सङ्ग्रहालयमा


प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार

कालीगण्डकी नदीमा मात्र पाइने दुर्लभ एवं बहुमूल्य शिला शालिग्राम अब सङ्ग्रहालयमा देख्न पाइने भएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ निर्माण गरिएको हो ।

सङ्ग्रहालयको आइतबार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायतबाट सामूहिक उद्घाटन हुँदैछ । छिटपुटबाहेक सङ्ग्रहालय निर्माणको काम सकिएको मन्दिरका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए । झण्डै रु छ करोडको लागतमा एक वर्ष लगाएर सङ्ग्रहालय बनाइएको हो । शालिग्राम संरक्षणसँगै पर्यटन प्रवद्र्धनको उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको अध्यक्ष प्रपन्नाचार्यको भनाइ छ । निर्माण नसकिँदै आन्तरिक पर्यटक तथा दर्शनार्थीलाई सङ्ग्रहालयले आकर्षित गरेको थियो । सुरुङभित्र बनेका कारण पनि सङ्ग्रहालयप्रति चासो र अभिरुचि बढेको हो ।

सङ्ग्रहालयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनीकक्ष बनाइएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै कृत्रिम भू–बनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ । सङ्ग्रहालयमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् । मुस्ताङमा पर्ने दामोदरकुण्ड कालीगण्डकी नदीको उद्गमस्थल हो । भौगोलिक नक्साअनुसारकै नमूना तयार पार्न नेपाली सेनाले सघाएको थियो । गण्डकी सभ्यता देखाउने नक्साङ्कनलाई सिसाले घेरिएको छ । “सिङ्गो गण्डकी सभ्यताको नमूना प्रतिरूप यसमा देख्न सकिन्छ”, अध्यक्ष प्रपन्नाचार्यले भने । त्रिशूल आकारमा रहेको सुरुङको बाँयापट्टि धार्मिक महत्वका एक लाख शालिग्राम सङ्ग्रहित छन् ।

चौध वर्ष लगाएर सङ्कलन गरिएका शालिग्राम सङ्ग्रहालयमा राखिएको अध्यक्ष प्रपन्नाचार्यको भनाइ छ । सङ्ग्रहालयमा मन्दिरका संस्थापक स्वामी श्रीधराचार्यको स्मृतिकक्ष पनि बनाइएको छ । उनको मूर्तिसँगै गण्डकी सभ्यताबारे उनले लेखेका पुस्तक, लेख, रचना र अन्य सामग्री उक्त कक्षमा रहेका छन् । भारत, चीन, पाकिस्तानलगायत देशमा रहेका प्रसिद्ध नदीका शिलाहरु पनि सङ्ग्रहालयमा राखिएको छ । समुद्री अवशेषहरुलाई पनि नमूनाका रूपमा देखाइएको छ । पाठपूजा, हवनजस्ता धार्मिक कार्यमा प्रयोग हुने परम्परागत सामग्री एवं उपकरण पनि सङ्ग्रह गरिएको छ । सुरुङको दायाँपट्टि ११२ जना अट्ने वृत्तचित्र प्रदर्शनीकक्ष निर्माण गरिएको छ । त्यहाँ गण्डकी सभ्यताको महिमा झल्काउने र गण्डकी सभ्यतामाथि पछिल्लो समय भइरहेको अतिक्रमण देखाउने वृत्तचित्र प्रदर्शन गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वृत्तचित्र भने आउँदो पुसभित्र तयार हुने अध्यक्ष प्रपन्नाचार्यले बताए । अत्याधुनिक प्रविधिको प्रयोग गरेर भारतको बैङ्गलोर शहरमा वृत्तचित्र बनिरहेको उनको भनाइ छ । सुरुङको पछिल्लो भागमा ध्यानस्थल पनि बनाइएको छ । भक्तजन र पर्यटकलाई सङ्ग्रहालयभित्र एक/डेढ घण्टा भुल्ने वातावरण बनेको छ । सङ्ग्रहालयमा बायाँपट्टिबाट प्रवेश गरी एक फन्को लगाएर बाहिर निस्कने व्यवस्था मिलाइएको छ । सङ्ग्रहालय घुमेको रु १०० शुल्क तोकिएको छ । विद्यार्थीले रु ५० को टिकटमा सङ्ग्रहालय घुम्न पाउनेछन् । उद्घाटनपछि औपचारिकरूपमा सर्वसाधारणका लागि सङ्ग्रहालय खुला हुने जनाइएको छ ।

सङ्ग्रहालय निर्माणका लागि गत आवमा गण्डकी प्रदेश सरकारले रु ८० लाख र बागलुङ नगरपालिकाले रु १० लाख बजेट छुट्याएको थियो । चालू आवमा कतैबाट पनि सरकारी बजेट नछुट्टिएको मन्दिर व्यवस्थापनको गुनासो छ । सङ्ग्रहालय निर्माणमा दाताहरुको ठूलो सहयोग छ । ऋण सहयोगसमेत जुटाइएको छ । सङ्ग्रहालयले जिल्लाको धार्मिक पर्यटनमा ठूलो टेवा पुर्‍याउने विश्वास लिइएको छ । प्राकृतिक र मानवीय अतिक्रमणका कारण लोपोन्मुख अवस्थामा पुगेको शालिग्रामलाई हिन्दू धर्म, संस्कारमा विष्णु भगवान्का रूपमा पुज्ने चलन छ । कालीगण्डकी (पौराणिक नाम कृष्णागण्डकी) नदीमा पाइने शालिग्रामको दर्शन गर्नाले पुण्य मिल्ने जनविश्वास छ ।

सङ्ग्रहालय नजिकै निर्माणाधीन श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरको पनि ९५ प्रतिशत काम पूरा भएको छ । विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ बनाइएको हो । प्यागोडा शैलीको मन्दिरमा श्रीराम अङ्कित कालीगण्डकी नदीका शिला (ढुङ्गा) र सालको काठ प्रयोग गरिएको छ । सालको काठमा आर्कषक कला कुँदेर मन्दिरका टुँडाल, झ्यालढोका बनाइएको छ । प्राचीन नेपाली कला र शैली झल्कने गरी बनाइएको मन्दिरमा ६४ टुँडाल छन् भने तिनमा विभिन्न देवी, देवताका आकृति कुँदिएका छन् । मन्दिरमा भगवान् मुक्तिनाथ, श्रीरङ्गनाथ, श्रीवेङ्कटेशनाथ, श्रीदेवी, भूदेवी र नीलादेवीको मूर्ति रहने जनाइएको छ । -रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com