भैरहवा पुगेर चित्रबहादुर केसीले भने – भारतले नक्सा नसच्याए अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ
प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार
राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले भैरहवा पुगेर भारतले जारी गरेको राजनीतिक नक्साको समाधान कूटनीतिक तरिकाले नभए अन्तर्राष्ट्रिय अदालतमा जान सकिने बताएका छन् । तर त्यसको समाधान कूटनीतिक तरिकाले नै हुन सक्ने उनको भनाई छ ।
भारतसँग कूटनीतिक छलफल गरेर पनि नक्सा नसच्चिए अन्तर्राष्ट्रियकरण गर्न सकिने उनको भनाइ छ । प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले भैरहवामा गरेको पत्रकार सम्मेलनमा
उनले आफूहरुलाई एक इन्च पनि अरुको जग्गा नचाहिने भन्दै अरुले पनि आफ्नो एक इन्च जग्गा मिच्न नपाउने बताए । केसीले नेपाली भू–भाग समेटर भारतले आफ्नो नक्सा प्रकाशित गर्नु चिन्ताको विषय भएको बताए ।
जुन नेपाली भू–भाग भारतले नक्सामा राखेको छ त्यो चिन्ताको विषय भएको र त्यसलाई सच्याउनुपर्ने उनले बताए । उनले भने – ‘हाम्रो पुर्खाले जोगाएर राखेको भू–भाग हामीले छोड्दैनौँ ।’
उनले मुलुकको दर्जनौँ स्थान अतिक्रमित भएपनि विदेशीले मुलुकका नेतालाई लडाएर मुलुकमा खेल्दै आएको आरोप लगाए ।
उनले सर्वदलीय बैठकले नक्साको विषयमा जुटेको राष्ट्रिय सहमति राम्रो परिणाम ल्याउने अपेक्षा गरेको बताए । नेता केसीले सरकारले पाएको जनादेश अनुसार काम गर्न नसकेको भएपनि आफ्नो दल सरकार ढाल्ने पक्षमा नरहेको स्पष्ट पारे ।








