युरोप पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ


प्रकाशित मिति : २३ असार २०८३, मंगलबार

आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा पारेर युरोप पठाइदिने भन्दै २४ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

उनीहरूले विभिन्न व्यक्तिहरूबाट कुल २४ लाख ४५ हजार रुपैयाँ बराबरको ठगी गरेको आरोप लागेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा लमजुङका पूर्णबहादुर दुरा, दोलखाका कमला खत्री र रामकुमार श्रेष्ठ तथा सुर्खेतकी सरस्वती गिरी छन्।

कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले युरोपका विभिन्न देश पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेका हुन्। पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीका घटनाप्रति सचेत रहन र आधिकारिक प्रक्रिया तथा स्वीकृत म्यानपावर कम्पनीमार्फत मात्र विदेश जान प्रहरीले सर्वसाधारणमा आग्रह गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com