अमेरिकाको प्राथमिक विद्यालयमा अन्धाधुन्ध गोलीप्रहार,३ बालबालिका र १ शिक्षकको मृत्यु
प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार
Photo: Martin Podsiad/ Unsplash
अमेरिकाको ओरेगन राज्यस्थित बेन्ड शहरमा रहेको ‘सिल्भर रेल एलिमेन्ट्री स्कूल’ मा बिहीबार भएको अन्धाधुन्ध गोलीकाण्डमा परि तीन जना बालबालिका र एक जना शिक्षकको मृत्यु भएको छ। उक्त घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार १६ वर्षीय बन्दुकधारी किशोरलाई स्थानीय एक सर्वसाधारणले गोली हानेर मारिदिएका छन्।
बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा बेन्ड प्रहरी प्रमुख माइक क्रान्ट्जले ज्यान गुमाउने बालबालिकाहरू ५, ८ र ११ वर्षका रहेको जानकारी दिए। यस्तै, घाइते हुनेहरूमा ७ वर्षका एक बालक र ५४ वर्षीया एक शिक्षिका रहेका छन्। उनीहरूको सेन्ट चार्ल्स मेडिकल सेन्टरमा उपचार भइरहेको छ। मृतक तथा घाइतेहरूको पहिचान भने तत्काल सार्वजनिक गरिएको छैन।
प्रहरी प्रमुख क्रान्ट्जका अनुसार दिउँसो १ बजेभन्दा केही अघि एक व्यक्तिले आफ्नो गाडीमा बसिरहेका बेला लामो बन्दुक बोकेको संदिग्धले आक्रमण गरेको भन्दै ९११ मा फोन गरेका थिए। त्यसलगत्तै संदिग्ध व्यक्ति विद्यालयभित्र छिरेको भन्दै दर्जनौँ फोनहरू आएका थिए। बन्दुकधारीले ढोकाको तालातर्फ गोली हानी जबर्दस्ती विद्यालयभित्र प्रवेश गरेको बताइएको छ।
पहिलो ९११ कल आएको तीन मिनेटभित्रै प्रहरी टोली विद्यालय परिसरमा पुगेको थियो। तर, प्रहरी पुग्नुअघि नै संदिग्ध व्यक्तिलाई एक स्थानीय सर्वसाधारणले गोली हानिसकेका थिए। “आक्रमणकारी विद्यालयभित्र छिरेको देखेपछि एक स्थानीय नागरिकले उसको पछ्याउँदै भित्र छिरेर प्रतिरोध गरेका थिए,” प्रहरी प्रमुख क्रान्ट्जले भने। प्रहरी टोली भवनभित्र प्रवेश गर्दा चार जनाको शव फेला परेको थियो।
आक्रमणमा कस्तो प्रकारको हतियार प्रयोग भएको थियो र कति राउन्ड गोली चलाइएको थियो भन्नेबारे अधिकारीहरूले विस्तृत विवरण दिएका छैनन्। आक्रमणको कारण र बन्दुकधारीको विद्यालयसँगको सम्बन्धबारे पनि अनुसन्धान भइरहेको छ।
घटनालगत्तै प्रहरीले विद्यालय खाली गराई विद्यार्थी तथा कर्मचारीहरूलाई नजिकैको चर्चमा लगेर अभिभावकहरूसँग पुनर्मिलन गराएको थियो।
बेन्ड-ला पाइन स्कूलका सुपरिवेक्षक स्टेभन कुकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भने, “आज हाम्रो विद्यालयमा अकल्पनीय त्रासदी घटेको छ। कुनै पनि समुदायले यस्तो पीडा भोग्न नपरोस्।”
ओरेगनकी गभर्नर टिना कोटेकले थप मानवीय क्षति हुनबाट रोक्न ज्यानको बाजी लगाएर अघि बढेका ती सर्वसाधारण नागरिकको प्रशंसा गरेकी छन्। घटनापछि जिल्लाका सम्पूर्ण विद्यालयहरू शुक्रबारका लागि बन्द गरिएका छन्।





