वायु प्रदूषणले भारतमा जनजीवन अस्तव्यस्त


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

बढ्दो वायु प्रदूषणका कारण राजधानी नयाँदिल्लीको जनजीवन अस्तव्यस्त बनेको छ । सोमबार प्रदूषणको मात्रा झन् बढेपछि जनजीवन अस्तव्यस्त बनेको हो । प्रदूषण बढेपछि एक सातादेखि हरियाणा, पन्जाब र नयाँदिल्लीका विद्यालय बन्द छन् भने सरकारले सोमबारदेखि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ ।

दिल्लीको आकाशमा देखिएको तुवाँलोले बालबालिकाको फोक्सोमा असर पार्ने भन्दै विद्यालय बन्द गरिएको हो । प्रदूषणले हद नाघेको भन्दै वातावरणविद्को समूहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई तत्काल उपर्युक्त कदम चाल्न आग्रह गरेको छ । प्रदूषणका कारण निर्माण कार्य ठप्प छन् भने अन्य दैनिक आवश्यक सामग्रीको आपूर्तिमा कठिनाइ भएको छ । सवारी साधन, किसानले बालेको आगो र औद्योगिक उत्पादनको धुवाँधुलोले दिल्लीको आकाश ढाकिएको छ ।

हरेक चिसो मौसमको सुरुवातसँगै यस वर्ष पनि नयाँदिल्लीको आकाशको मौसम बिग्रिएको छ । प्रदूषण गएको तीन वर्षयताकै सबैभन्दा उच्च छ । नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले प्रदूषणका कारण दिल्लीको अवस्था अत्यन्तै खतरनाक भएको बताएका छन् ।

प्रदूषण बढेपछि डेढ साताअघि सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गरेको थियो । वायु प्रदूषणको मात्रा बढ्न थालेपछि यसै साता दिल्लीका विद्यालयमा मास्क वितरण गरिएको थियो । तर, मास्कले पनि थेग्न नसक्ने भएपछि विद्यालय बन्द गरिएका हुन् । दीपावलीपछि दिल्लीको हावाको गुणस्तरमा गिरावट आएको र श्वासप्रश्वासमा नै समस्या हुन थालेको छ । चिसो र श्वासप्रश्वासका बिरामीले अस्पतालमा भिड हुन थालेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com