दिल्लीको प्रदूषण झन् बढ्यो,आँखाले बाहिरको वातावरण हेर्न कठिन


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

दिल्लीको प्रदूषण झन् बढेको छ । वायुमा धुलोका कण अत्यधिक देखिएपछि सरकारले दिल्लीमा बिहीबार स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । शनिबार दिल्लीको वायुको गुणस्तरको सूचकांक ४०७ रहेकोमा आइतबार ६२५ पुगेको छ, जसका कारण खाली आँखाले बाहिरको वातावरण हेर्न कठिनाइ भएको छ ।

प्रदूषणका कारण दिल्लीका अधिकांश विद्यालय बन्द छन् भने यातायातका साधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । प्रदूषणका कारण ३३ उडानसमेत डाइभर्ट भएका छन् । प्रदूषणबाट दिल्लीबाहेक पन्जाब र हरियाणा राज्य पनि अत्यधिक प्रभावित छन् । सरकारले ती राज्यका कलकारखाना केही दिनका लागि बन्द राख्न निर्देशन दिएको छ ।

मुख्यमन्त्री अरबिन्द केजरिवालले तत्काल आवश्यक कदम चाल्न केन्द्र सरकारसमक्ष आग्रह गरेका छन् । प्रदूषण नियन्त्रण गर्न केन्द्रले चाल्ने जुनसुकै कदममा राज्य सरकारले सहयोग गर्ने उनले बताए । ‘उत्तरी भारतमा प्रदूषणले हद नाघेको छ । दिल्ली सरकारले प्रदूषण नियन्त्रण गर्न आवश्यक कदम चालेको छ । प्रदूषण नियन्त्रणका लागि केन्द्रले चाल्ने हरेक कदमलाई राज्यले सहयोग गर्नेछ,’ केजरिवालले भने । प्रत्येक वर्ष नोभेम्बर र डिसेम्बरमा दिल्लीको वायु प्रदूषित बन्ने गरेको छ ।

हरियाणा र पन्जाब राज्यमा किसानहरूले अन्नबाली भित्र्याएपछि खेतमा रहेका ठुटामा आगो लगाउँछन् । एक तथ्यांकअनुसार उत्तरी भारतमा हिउँदमा ८० हजार वर्गकिलोमिटर खेतबारीमा २० लाख किसानले २० करोड तीन लाख टन खेतीको ठुटा जलाउँछन् । त्यसरी लगाइने आगोका दृश्य भू–उपग्रहबाट खिचिने तस्बिरमा पनि देखिने गरेको छ । बाक्लो सेतो हुस्सुले राजधानीलाई ढाकिरहेका वेला सर्वसाधारणले आफ्नो वरपरको प्रदूषित वातावरणको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर सरकारसँग आक्रोश पोखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com