पहुँचयोग्य स्वास्थ्य सेवा !


प्रकाशित मिति : फाल्गुन १५, २०७३ आईतबार

स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रम साथ आज पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागेको छ । ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नाराका साथ पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा शुभकामना सन्देश दिदै स्वास्थ्य मन्त्री गगनकुमार थापाले विभिन्न रोगहरुको निधान र पहुँचयोग्य स्वास्थ्य सेवाका लागि नितिगत, कार्यगत र संस्थागत सुधार गर्न मन्त्रालय क्रियाशिल रहेको जानकारी दिदै त्यसका लागि सवै स्वास्थ्यकर्मीहरुलाई आजैदेखि सक्रिय सहभागीताका लागि अपिल गर्नुभएको छ ।

नागरिक स्वस्थ भए मात्र देश स्वस्थ हुने तर्क गर्दै मन्त्री थापाले स्वस्थ नागरिकका लागि स्वास्थ्यकर्मी नै आधार भएको उल्लेख गर्नु भएको छ । स्वास्थ्य सेवामा जनताको पहुँच बढाउन सेवाका आधारमा स्वास्थ्य संस्थाको बर्गिकरण गर्ने कार्य अन्तीम चरणमा पुगेको, जनस्वास्थ्य ऐन र विमा ऐनको मस्यौदा बनिसकेको लगायत कामहरु तिव्रताका साथ भईरहेको मन्त्री थापाले सन्देश मार्फत् जानकारी दिनुभएको छ ।

स्वास्थ्य सेवा दिवस मनाउन केन्द्रमा मुख्य सचिवको संयोजकत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती समितिहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् ।

मुख्य सचिवको संयोजकत्वमा गठित केन्द्रीय स्तरको मूल समारोह समितिको आयोजनामा विहान स्वास्थ्य सेवा विभाग टेकुमा योगा कार्यक्रम सम्पन्न भएको छ भने ८ बजेपछि टेकुबाट प्रभातफेरी गरी विहान ९ बजे स्वास्थ्य मन्त्रालयमा पुग्ने कार्यक्रम रहेको छ । प्रभातफेरीपछि मन्त्रालयका दिवसको मुल समारोह हुने भएको छ ।

मन्त्रालय मातहतका अन्य निकायहरुमा भने स्वास्थ्यकर्मी र जनताबीचको सम्बन्धलाई सुदृढ बनाउने, स्वास्थ्य शिविरहरू गर्ने, सरसफाइलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com