राष्ट्रपति  ट्रम्पले महाअभियोगकाे सामना गर्नुपर्ने !


प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार

एजेन्सी/ अमेरिकामा विपक्षी दल डेमोक्र्याटिक पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रियालाई औचापरिक रुपमा अघि बढाएको छ ।

ट्रम्पमाथि आफ्नो प्रतिद्वन्द्वीलाई कमजोर बनाउन विदेशी शक्तिको सहयोग लिएको आरोपमा महाअभियोग लगाउन खोजिएको हो ।

डेमोक्र्याटिक पार्टीकी नेतृ नेन्सी पेलोसीले राष्ट्रपतिलाई जवाफदेही बनाउनै पर्ने बताएकी छिन् ।तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुख समेत रहेकी उनले महाअभियोग प्रक्रिया शुरु भएको बताइन् ।

ट्रम्पले भने कुनै गलत काम नगरेको भन्दै यो प्रक्रियाको विरोध गरेका छन् । अर्को वर्ष हुने अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका सम्भावित प्रतिद्वन्द्वी जो बाइडेन र उनका छोरामाथि भ्रष्टाचारको विषयमा छानविन गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि ट्रम्पले दबाव दिएको समाचार आएका छन् ।

डेमोक्र्याटिक पार्टीभित्र ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा ठूलो समर्थन रहेको छ । तर रिपब्लिकन पार्टी बहुमतमा रहेको माथिल्लो सदन सिनेटबाट भने यो प्रस्ताव पारित हुने सम्भावना कमै रहेको छ । ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग फोनमा बाइडेनको बारेमा कुरा गरे पनि छानविनका लागि दबाव नदिएको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com