अमेरिकी बालक रुडोल्फले बनाए विश्व कीर्तिमान


प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार

अनौठा प्रतिभाका कारण विश्वभरका मानिसहरुले विभिन्न कीर्तिमान राख्न सफल भएका छन् । यस्तै अमेरिकाका एक सात वर्षीय बालकले विश्वकै सबैभन्दा तीव्र गतिका बाल धावकको कीर्तिमान कायम गरेका छन् ।

सात वर्षका रुडोल्फ इन्ग्राम नामका यी बालकले विश्वमै सबैभन्दा तीव्र गतिका बाल धावकको कीर्तिमान हासिल गरेका छन् । १३ दशमलब ४८ सेकेण्डमा १ सय मिटर दौड पूरा गरी रुडोल्फले नयाँ कीर्तिमान बनाएका हुन् ।
ब्लेज अर्थात् ज्वाला उपनामले चर्चित यी बालक बिजुलीसरी तीव्र गतिमा दौडिन्छन् । अमेरिकाको फ्लोरिडाका उनले गत फेब्रुअरीमा अमेरिकाको एक फुटबल खेलका दौरान डिफेन्डरहरुलाई निकै पछि पार्दै तीव्र गतिमा दौडिएको भिडियो सामाजिक सञ्जालमा निकै चर्चित बनेको थियो ।

पुनः ट्रयाकमा फर्किएको उनको हालैको दौडको भिडियो इन्स्टाग्राममा आएसँगै भाइरल बनेको थियो । उनका बुबाले इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेको भिडियोमा उनले १ सय मिटरको दौड १३.४८ सेकेण्डमा दौड पूरा गरेको देखिन्छ । यदि त्यो समय प्रमाणित भएमा पुनः उनले नयाँ कीर्तिमान कायम गर्नेछन् ।

यसअघि उनी आफैले १३.६७ सेकेण्डमा दौड पूरा गरेका थिए । उनले अमेरिकामा भएका विभिन्न दौड प्रतियोगितामा २० वटा स्वर्ण पदकसहित अहिलेसम्म ३६ पदक जितिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com