राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश


प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार

संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको आरोप छ ।

अमेरिकाले अन्य क्युबाली कूटनीतिज्ञको हिँडडुलमा पनि प्रतिबन्धहरू लगाउँदै राष्ट्रसंघको मुख्यालय रहेको परिसरभित्रै रहनुपर्ने उल्लेख गरेको प्रवक्ता मोर्गन ओर्टागुसले बताउनु भएको छ ।

क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले अमेरिकाको यो कदम अनुचित भएको बताउनु भएको छ । क्युबा यी कूटनीतिज्ञलाई देशनिकाला गर्ने यस कदमबाट तनाव उत्पन्न हुने स्पेनिश भाषामा गरेको ट्वीटमा उहाँले बताउनु भएको हो ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता अमेरिकाले क्युबामाथि दबाव बढाउँदै लगेको छ । अमेरिकाले सेप्टेम्बर २०१७ मा क्युबाबाट आफ्ना अधिकांश कूटनीतिज्ञ फिर्ता बोलाएको छ । ट्रम्पले १५ क्युबाली कूटनीतिज्ञलाई पनि अमेरिकाबाट निकालेका छन् ।

क्युबाली कुटनीतिज्ञलाई देश निकाला गर्ने यो पछिल्लो कदम संयुक्त राष्ट्रसंघको न्युयोर्कमा हुन लागेको ७४ औं महासभाको पूर्वसन्ध्यामा गरिएको छ ।

संयुक्त राष्ट्रसंघले जारी गरेको एक विज्ञप्तिमा यस प्रकारको परिस्थिति जारी रहेको र देश निकाला भएको पुष्टि गर्नु बाहेक यस बिषयमा कुनै टिप्पणी नगर्ने जनाएको छ ।

यस विषयलाई राष्ट्रसंघले नजिकबाट नियालीरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com