वर्ल्ड ट्रेड सेन्टर हमलामा बाँचेका नेपाली भन्छन् – ‘जीवन संयोगको दस्तावेज रहेछ’


प्रकाशित मिति : भाद्र २५, २०७६ बुधबार

‘आकासे भवनका ठूला एलिभेटर छिर्दा म हिजो आज सोफोकेसन भएको अनुभूती गर्छु । सकभर एक्लै चढ्न नपरे हुन्थ्यो भन्ने लाग्छ । यी आलिशान अग्ला आकासे महलहरु बनाउने होडबाजी नगरेपनि हुन्थ्यो जस्तो लाग्छ । तर मेरो भावनाले उनीहरुको ब्यापारलाई रोक्न सक्दैन । त्यो पनि मलाई थाहा छ । म मन बोल्छु र यो क्षण बोलिरहेको छु । तर मेरा सहकर्मी मित्रहरुको चिहानको आसपासमा धनको खोज र खेती हुन्छ । हामी भावना बोल्छौं तर उनीहरु ब्यापार गर्छन् ।

नेपाल या अमेरिकाको अन्य राज्यहरुबाट आफन्त या साथीसंगीहरु आउँदा उहाहरुको घुम्ने ठाउहरुको लिष्टमा प्रायजसो ग्राउण्ड जिरो अर्थात् पहिलोको वल्र्ड टे्रड सेन्टर पर्ने गर्छ । म निरन्तर बिलखबन्दमा पर्छु । खुलेर भन्न सक्दिन – ‘किन घुम्न जानु मेरा सहकर्मीहरुको चिहान ?’ मेरा साथी डाक्टर प्रदीप भट्टराईले सधै नेपालबाट लेख्ने गर्छन् – ‘साथी बोनसको जीवन पाएका र बाचेका छौ । असल र अर्थपूर्ण काम गर है ।’ मेरी श्रीमति प्राय जसो सेप्टेम्बर ११ को मेमोरियल सेरेमोनीमा जान रुचाउदैनन् । उनी भन्ने गर्छिन् – ‘बुढा, तिमी मञ्चमा चढेर रुन्छौ मात्र । के हेर्नु पुरुषको आँशु ?’ आँशु आखिर आँशु नै हो । कहाँ रोकिदो रहेछ र ? जसको आँखाबाट वर्षिय पनि मन दुखेर या पग्लेर झर्ने आँशुको रंग शायद उस्तै हुन्छ  होला ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा भएको आतंककारी हमलामा संयोगले बाँचेका शैलेश श्रेष्ठले सेप्टेम्बर ११ को विहान यसरी स्मरण गरे त्यो सपना जस्तो भयानक विहानलाई । १८ वर्ष अगाडिको एउटा विहान । सधै व्यस्त रहने अमेरिकको न्यूयोर्क शहर । विहानीको उज्यालोसंगै शहरको व्यस्तता बढ्दै थियो । त्यही समयमा विहानको ८ बजेर ४६ मिनेट जाँदा म्यानहटनमा रहेको गगनचुम्बी जुम्ल्याहा भवनको उत्तरी टावरमा आत्मघाती हमलाकारीले जहाज ठोक्काए ।

त्यसको झण्डै १५ मिनेट पछि जुम्ल्याहा भवनकै दक्षिणी टावरमा अर्को जहाज ठोक्काइयो । जहाज पेन्टागन र पेन्सिलभानियामा पनि खसालिएको थियो, तर सबैभन्दा ठूलो क्षति न्यूयोर्कमा भयो । अल कायदाको हमलाका कारण १५ मिनेट अगाडिसम्मको शान्त र व्यस्त न्यूयोर्क कोलाहलमा परिणत भयो । जताजतै भागदौड मच्चियो । ट्वीन टावर गल्र्यामगुर्लुम ढल्यो । विश्वको सबैभन्दा ठूलो शहरको नाभीस्थल चिहानमा परिणत भयो । झण्डै ३ हजार जनाको एकै चिहान भयो । ट्वीन टावरमा काम गर्नेहरुमात्र होइन, हमलापछि बचाउन भन्दै गएका ३ सय ४३ जना अग्नी नियन्त्रकहरुले पनि आफै जलेर ज्यान गुमाउनुप¥यो । अरुको ज्यान बचाउन भन्दै गएका ६० जना प्रहरीको समेत मृत्यु भयो । यो घटनामा ७ हजारजना घाइते भएका थिए ।

ट्वीन टावरमा आक्रमण हुदा त्यहाभित्र र आसपासमा केही नेपालीहरुले पनि काम गर्थे । तर संयोगबश उनीहरु सबैजना बाच्न सफल भए । त्यो विभत्स र भयानक घटना सम्झदा अहिले उनी उनीहरुको जिउमा काडा उम्रन्छ । एउटा भयानक सपना जस्तो लाग्छ उनीहरुलाई । जब सेप्टेम्बर ११ को घटनाको याद आउछ, भयानक सपना पछि ब्यूझेजस्तै गरी झस्किन्छन् उनीहरु । त्यतीबेला ट्वीन टावर भित्रै काम गर्ने र आसपासमा काम गर्ने चारजना नेपालीहरु थिए । संयोगबश कसैले पनि मृत्युसंग हार्नुपरेन ।

ट्वीन टावरको १०६ र १०७ औं तल्लामा रहेको रेष्टुरेन्टमा काम गर्ने शैलेश श्रेष्ठ निकै ठूलो संयोगले बाँचे । त्यसदिन काम गर्ने तालिका बदलिएकाले उनको ज्यान जोगिएको हो । नत्र उनीसंगै काम गर्ने सबैजनाको ज्यान जाँदा उनीमात्र बाँच्न सम्भव थिएन । त्यसैले उनलाई नया जिन्दगी पाएको अनुभव भइरहेको छ अहिले । शैलेश भन्छन– ‘शायद दिन नआएकाले त्यस्तो संयोग परेर बाँच्न सफल भएं ।’

नेपाली मुलकी दार्जिलिङकी युली चेनले पनि त्यतीबेला ट्वीन टावरभित्रै रेष्टुरेन्टमा का गर्थिन् । उनले भने त्यतीबेला निकै नजिकबाट देखिन् मृत्युलाई । ट्वीन टावरभित्र छिरिसकेपनि काम गर्ने १०६ तलामा पुग्न नभ्याइसकेका कारण उनको ज्यान जोगियो । आक्रमणपछि ज्यान जोगाउनका लागि भाग्न खोज्दा उनी नराम्रोसंग भूइमा पछारिइन् । सयौं मानिसले कुल्चिए उनलाई । तर एकजना प्रहरीको सहयोगले निकै मुस्किलले बाच्न सफल भइन् युली ।

 

त्यसैदिनदेखि उनलाई मृत्युदेखि डर लाग्न समेत छाडेको छ ।  युलीमात्र होइन, युलीका भाइ सिम पनि ट्वीनटावरभित्रै काम गर्थे । तर उनको ज्यान पनि शैलेशकै जस्तो संयोगले जोगियो । त्यसदिन उनको काम गर्ने तालिका परिवर्तन भएकाले मात्रै उनी बाच्न सफल भएका हुन् । सिम भन्छन् – ‘यदि त्यस्तो संयोग नपरेको भए यो जिन्दगी पाउने थिइन , त्यसैले मलाई सबै घटना सपना जस्तो लाग्छ ।’

उनीहरुमात्र होइन, ट्वीन टावरकै छेउ आफ्नै ल फर्म खोलेका अधिवक्ता केशव शेडाईले पनि मृत्युलाई निकै नजिबाट देखे । त्यसदिन अलिक अबेरसम्म सुतेकालेमात्र उनी बाच्न सफल भए, नत्र के हुन्थ्यो भन्न सकिने अवस्था थिएन । मान्छेहरु झ्यालबाट हाम्फालेको र आफ्नै अगाडि वल्र्डट्रेड सेन्टर सेन्टर ढलेको दृश्य सम्झदा अहिले पनि झस्किन्छन् उनी ।

त्यस्तै वल्र्डट्रेड सेन्टर नजिकैको रेष्टुरेन्टमा काम गर्ने कल्पना पन्त पनि निकै मुस्किलले बाच्न सफल भइन् ।  त्यसैले घटना सम्झदा अहिले पनि भक्कानो फुट्छ उनको । भागदौडमा उनलाई पनि सयौं मान्छेले कुल्चिए । बल्लतल्ल उठेर स्टेटन आइल्याण्ड पुग्दा उनले आफूलाई आफैले चिन्न नसक्ने अवस्था आएको थियो । घर फर्कदा छोरोले उनी ज्यूदै रहेको कुरा समेत पत्याउन सकेन । भूत आएजस्तो गरी उनले खुवाएको खाना समेत खाएन । यो घटनापछि धेरै दिनसम्म कल्पनाले खाना खान पनि सकिनन् । उनलाई दुईवर्षसम्म त टे«न चढ्न पनि निकै डर लाग्यो । काममा पनि जान सकिनन् । अझै पनि कतैबाट ठूलो आवाज आयो भने तर्सिन्छिन् उनी ।

 

सानो संयोगले मात्र बाचेका यि नेपालीहरुमात्र हैन, त्यतिबेला न्यूयोर्कमा बस्ने सबै नेपालीहरुलाई ट्वीन टावर आक्रमणको घटना सपना जस्तो लाग्छ । आक्रमण लगत्तै अधिकांशले घटनाबारे थाहा पाएका थिए । घटनापछि आफन्तलाई फोन गर्ने मात्र हैन, आफू बाचेकोमा रुवावासी समेत चल्यो । घरबाहिर निस्कन समेत डराउने अवस्था आयो ।  रिजवुड निवासी श्री पराजुलीले १० मिनेटपछि घटना थाहा पाउदा उनलाई सुरुमा पत्याउनै मुस्किल प¥यो । उनकी रुम पार्टनर सोनिया हेरिसले फोनमार्फत जानकारी दिएपछि टेलिभिजन अन गरेर हेर्दा कुनै चलचित्रको दृश्य जस्तो लाग्यो उनलाई । पछि काममा जाँदा एशीयन मुलुकको भएकाले खतरा हुनसक्ने भन्दै उनलाई डर समेत देखाइयो ।

डाक्टर विनोद शाह सेप्टेम्बर ११ का दिन एकदिनका  लागि मात्र न्यूयोर्क बाहिर गएका थिए । उनले जुम्ल्याहा भवनमा आक्रमणको १० मिनेटभित्रै थाहा पाए । जब एकपछि अर्को जहाज ठोक्किएको खबर आयो, तब उनले हंशले ठाउ छाड्यो । हत्त न पत्त न्यूयोर्कमा रहेको परिवारलाई फोन गरे । परिवार सकुशल रहेको थाहा पाएपछि बल्ल उनले राहतको स्वास फेरे । दुईदिन अगाडिसम्म ठिङग उभिएको जुम्ल्याहा भवन दुईदिनपछि न्यूयोर्क आएर हेर्दा भग्नावशेषमा परिणत भइसकेको थियो ।  ट्वीन टावर आक्रमणको यो घटनापछि कैयन नेपालीहरु धेरैदिनसम्म आक्रमणस्थलमा जान समेत सकेनन् । नजिकबाट आक्रमण देखेका कैयनले धैरे दिनसम्म राम्ररी खाना खान समेत सकेनन् । भग्नावशेशमा मान्छेका लाश पुरिएकाले केहीदिनसम्म आक्रमणस्थल वरपर लाशको समेत गन्ध आउने गरेको बताउछन्, प्रत्यक्षदर्शीहरु ।

खसोखास अर्काइभबाट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com