२२ बर्ष अगाडि वर्ल्ड ट्रेड सेन्टर हमलामा बाँचेका नेपाली भन्छन् – ‘जीवन संयोगको दस्तावेज रहेछ’


प्रकाशित मिति : भाद्र २५, २०८० सोमबार

 

‘आकासे भवनका ठूला एलिभेटर छिर्दा म हिजो आज सोफोकेसन भएको अनुभूती गर्छु । सकभर एक्लै चढ्न नपरे हुन्थ्यो भन्ने लाग्छ । यी आलिशान अग्ला आकासे महलहरु बनाउने होडबाजी नगरेपनि हुन्थ्यो जस्तो लाग्छ । तर मेरो भावनाले उनीहरुको ब्यापारलाई रोक्न सक्दैन । त्यो पनि मलाई थाहा छ । म मन बोल्छु र यो क्षण बोलिरहेको छु । तर मेरा सहकर्मी मित्रहरुको चिहानको आसपासमा धनको खोज र खेती हुन्छ । हामी भावना बोल्छौं तर उनीहरु ब्यापार गर्छन् ।’

नेपाल या अमेरिकाको अन्य राज्यहरुबाट आफन्त या साथीसंगीहरु आउँदा उहाहरुको घुम्ने ठाउहरुको लिष्टमा प्रायजसो ग्राउण्ड जिरो अर्थात् पहिलोको वल्र्ड टे्रड सेन्टर पर्ने गर्छ । म निरन्तर बिलखबन्दमा पर्छु । खुलेर भन्न सक्दिन – ‘किन घुम्न जानु मेरा सहकर्मीहरुको चिहान ?’ मेरी श्रीमति प्राय जसो सेप्टेम्बर ११ को मेमोरियल सेरेमोनीमा जान रुचाउदैनन् । उनी भन्ने गर्छिन् – ‘बुढा, तिमी मञ्चमा चढेर रुन्छौ मात्र । के हेर्नु पुरुषको आँशु ?’ आँशु आखिर आँशु नै हो । कहाँ रोकिदो रहेछ र ? जसको आँखाबाट वर्षिय पनि मन दुखेर या पग्लेर झर्ने आँशुको रंग शायद उस्तै हुन्छ  होला ।’

न्युयोर्कमा भएको आतंककारी हमलामा संयोगले बाँचेका शैलेश श्रेष्ठले  यसरी स्मरण गरे त्यो सपना जस्तो भयानक विहानलाई । २२ बर्ष अगाडिको एउटा विहान । सधै व्यस्त रहने अमेरिकको न्यूयोर्क शहर । विहानीको उज्यालोसंगै शहरको व्यस्तता बढ्दै थियो । त्यही समयमा विहानको ८ बजेर ४६ मिनेट जाँदा म्यानहटनमा रहेको गगनचुम्बी जुम्ल्याहा भवनको उत्तरी टावरमा आत्मघाती हमलाकारीले जहाज ठोक्काए ।

त्यसको झण्डै १५ मिनेट पछि जुम्ल्याहा भवनकै दक्षिणी टावरमा अर्को जहाज ठोक्काइयो । जहाज पेन्टागन र पेन्सिलभानियामा पनि खसालिएको थियो, तर सबैभन्दा ठूलो क्षति न्यूयोर्कमा भयो । अल कायदाको हमलाका कारण १५ मिनेट अगाडिसम्मको शान्त र व्यस्त न्यूयोर्क कोलाहलमा परिणत भयो । जताजतै भागदौड मच्चियो । ट्वीन टावर गल्र्यामगुर्लुम ढल्यो । विश्वको सबैभन्दा ठूलो शहरको नाभीस्थल चिहानमा परिणत भयो । झण्डै ३ हजार जनाको एकै चिहान भयो । ट्वीन टावरमा काम गर्नेहरुमात्र होइन, हमलापछि बचाउन भन्दै गएका ३ सय ४३ जना अग्नी नियन्त्रकहरुले पनि आफै जलेर ज्यान गुमाउनुप¥यो । अरुको ज्यान बचाउन भन्दै गएका ६० जना प्रहरीको समेत मृत्यु भयो । यो घटनामा ७ हजारजना घाइते भएका थिए ।

ट्वीन टावरमा आक्रमण हुदा त्यहाभित्र र आसपासमा केही नेपालीहरुले पनि काम गर्थे । तर संयोगबश उनीहरु सबैजना बाच्न सफल भए । त्यो विभत्स र भयानक घटना सम्झदा अहिले उनी उनीहरुको जिउमा काडा उम्रन्छ । एउटा भयानक सपना जस्तो लाग्छ उनीहरुलाई । जब सेप्टेम्बर ११ को घटनाको याद आउछ, भयानक सपना पछि ब्यूझेजस्तै गरी झस्किन्छन् उनीहरु । त्यतीबेला ट्वीन टावर भित्रै काम गर्ने र आसपासमा काम गर्ने चारजना नेपालीहरु थिए । संयोगबश कसैले पनि मृत्युसंग हार्नुपरेन ।

ट्वीन टावरको १०६ र १०७ औं तल्लामा रहेको रेष्टुरेन्टमा काम गर्ने शैलेश श्रेष्ठ निकै ठूलो संयोगले बाँचे । त्यसदिन काम गर्ने तालिका बदलिएकाले उनको ज्यान जोगिएको हो । नत्र उनीसंगै काम गर्ने सबैजनाको ज्यान जाँदा उनीमात्र बाँच्न सम्भव थिएन । त्यसैले उनलाई नया जिन्दगी पाएको अनुभव भइरहेको छ अहिले । शैलेश भन्छन– ’शायद दिन नआएकाले त्यस्तो संयोग परेर बाँच्न सफल भएं ।’

नेपाली मुलकी दार्जिलिङकी युली चेनले पनि त्यतीबेला ट्वीन टावरभित्रै रेष्टुरेन्टमा का गर्थिन् । उनले भने त्यतीबेला निकै नजिकबाट देखिन् मृत्युलाई । ट्वीन टावरभित्र छिरिसकेपनि काम गर्ने १०६ तलामा पुग्न नभ्याइसकेका कारण उनको ज्यान जोगियो । आक्रमणपछि ज्यान जोगाउनका लागि भाग्न खोज्दा उनी नराम्रोसंग भूइमा पछारिइन् । सयौं मानिसले कुल्चिए उनलाई । तर एकजना प्रहरीको सहयोगले निकै मुस्किलले बाच्न सफल भइन् युली ।

त्यसैदिनदेखि उनलाई मृत्युदेखि डर लाग्न समेत छाडेको छ । युलीमात्र होइन, युलीका भाइ सिम पनि ट्वीनटावरभित्रै काम गर्थे । तर उनको ज्यान पनि शैलेशकै जस्तो संयोगले जोगियो । त्यसदिन उनको काम गर्ने तालिका परिवर्तन भएकाले मात्रै उनी बाच्न सफल भएका हुन् । सिम भन्छन् – ’यदि त्यस्तो संयोग नपरेको भए यो जिन्दगी पाउने थिइन , त्यसैले मलाई सबै घटना सपना जस्तो लाग्छ ।’

उनीहरुमात्र होइन, ट्वीन टावरकै छेउ आफ्नै ल फर्म खोलेका अधिवक्ता केशव शेडाईले पनि मृत्युलाई निकै नजिबाट देखे । त्यसदिन अलिक अबेरसम्म सुतेकालेमात्र उनी बाच्न सफल भए, नत्र के हुन्थ्यो भन्न सकिने अवस्था थिएन । मान्छेहरु झ्यालबाट हाम्फालेको र आफ्नै अगाडि वल्र्डट्रेड सेन्टर सेन्टर ढलेको दृश्य सम्झदा अहिले पनि झस्किन्छन् उनी ।

त्यस्तै वल्र्डट्रेड सेन्टर नजिकैको रेष्टुरेन्टमा काम गर्ने कल्पना पन्त पनि निकै मुस्किलले बाच्न सफल भइन् । त्यसैले घटना सम्झदा अहिले पनि भक्कानो फुट्छ उनको । भागदौडमा उनलाई पनि सयौं मान्छेले कुल्चिए । बल्लतल्ल उठेर स्टेटन आइल्याण्ड पुग्दा उनले आफूलाई आफैले चिन्न नसक्ने अवस्था आएको थियो । घर फर्कदा छोरोले उनी ज्यूदै रहेको कुरा समेत पत्याउन सकेन । भूत आएजस्तो गरी उनले खुवाएको खाना समेत खाएन । यो घटनापछि धेरै दिनसम्म कल्पनाले खाना खान पनि सकिनन् । उनलाई दुईवर्षसम्म त टे«न चढ्न पनि निकै डर लाग्यो । काममा पनि जान सकिनन् । अझै पनि कतैबाट ठूलो आवाज आयो भने तर्सिन्छिन् उनी ।

सानो संयोगले मात्र बाचेका यि नेपालीहरुमात्र हैन, त्यतिबेला न्यूयोर्कमा बस्ने सबै नेपालीहरुलाई ट्वीन टावर आक्रमणको घटना सपना जस्तो लाग्छ । आक्रमण लगत्तै अधिकांशले घटनाबारे थाहा पाएका थिए । घटनापछि आफन्तलाई फोन गर्ने मात्र हैन, आफू बाचेकोमा रुवावासी समेत चल्यो । घरबाहिर निस्कन समेत डराउने अवस्था आयो । रिजवुड निवासी श्री पराजुलीले १० मिनेटपछि घटना थाहा पाउदा उनलाई सुरुमा पत्याउनै मुस्किल प¥यो । उनकी रुम पार्टनर सोनिया हेरिसले फोनमार्फत जानकारी दिएपछि टेलिभिजन अन गरेर हेर्दा कुनै चलचित्रको दृश्य जस्तो लाग्यो उनलाई । पछि काममा जाँदा एशीयन मुलुकको भएकाले खतरा हुनसक्ने भन्दै उनलाई डर समेत देखाइयो ।

डाक्टर विनोद शाह सेप्टेम्बर ११ का दिन एकदिनका लागि मात्र न्यूयोर्क बाहिर गएका थिए । उनले जुम्ल्याहा भवनमा आक्रमणको १० मिनेटभित्रै थाहा पाए । जब एकपछि अर्को जहाज ठोक्किएको खबर आयो, तब उनले हंशले ठाउ छाड्यो । हत्त न पत्त न्यूयोर्कमा रहेको परिवारलाई फोन गरे । परिवार सकुशल रहेको थाहा पाएपछि बल्ल उनले राहतको स्वास फेरे । दुईदिन अगाडिसम्म ठिङग उभिएको जुम्ल्याहा भवन दुईदिनपछि न्यूयोर्क आएर हेर्दा भग्नावशेषमा परिणत भइसकेको थियो । ट्वीन टावर आक्रमणको यो घटनापछि कैयन नेपालीहरु धेरैदिनसम्म आक्रमणस्थलमा जान समेत सकेनन् । नजिकबाट आक्रमण देखेका कैयनले धैरे दिनसम्म राम्ररी खाना खान समेत सकेनन् । भग्नावशेशमा मान्छेका लाश पुरिएकाले केहीदिनसम्म आक्रमणस्थल वरपर लाशको समेत गन्ध आउने गरेको बताउछन्, प्रत्यक्षदर्शीहरु ।

हुलमा म भूईमा पछारिएँ, मलाई कैयनले कुल्चिए – कल्पना पन्त

म त्यतीबेला ट्वीन टावर नजिकैको एउटा भारतीय रेष्टुरेन्टमा काम गर्थें । त्यो रेष्टुरेन्ट टावर भन्दा दुई ब्लक पर थियो । सधैजस्तो ११ सेप्टेम्बरको दिनमा पनि म छोरालाई स्कुल पठाएर घरबाट बिहानै ८ बजे काममा निस्कएँ । त्यसदिन टे«नपनि निकै ढिलो चलिरहको थियो । टे«न वल्र्ड ट्रेड सेन्टरको स्टपमा पुगेपछि झर्न खोंजे । तर घडी हेर्दा काममा जानका लागि अलिकति समय बाकी नै रहेछ । त्यसैले म ब्याट्री पार्कको स्टपमा ओर्लिएँ । बाहिर निस्कदा दशौं हजार मान्छेको भींड थियो ।

सबै आत्तिदै आकाशतिर हेरिरहेका थिए । सुरुमा त यस्तो अचम्मको दृश्य देख्दा मलाई के भएको हो भन्ने थाहा पाउन समेत मुस्किल भयो । तर तुरुन्तै जहाजले वल्र्ड टे«ड सेन्टरको भवनमा हिकाएको कुरा थाहा पाउदा छांगाबाट खसेजस्तै भएं । आत्तिएर हतार हतार श्रीमानलाई फोन गर्नमात्र के लागेकी थिएं , आकाशै खसेजस्तो आवाज आयो ।

हेर्दा अर्को टावरमा पनि जहाज ठोक्काइएको रहेछ । मलाई मेरो काननै पड्कीएजस्तो लाग्यो । मैले त पूरै न्यूयोर्क सहर नै ध्वस्त भयो जस्तो लाग्यो । त्यसैले मलाई अब पूरिएर मरिने भयो भन्ने डर लाग्यो । त्यसैले जुत्ता फुकालेर हातमा समातें, अनि समुद्रतिर दौडन थालें । समुद्रमा हाम्फालेर भएपनि बाच्नुप¥यो भन्ठानेर म त्यता दौडदै थिएं ।

तर म अगाडि बढ्नै सकिन । मान्छेको हुलमा म भूईमा पछारिएं । मलाई सयौं मान्छेले कुल्चिए । म झण्डै बेहोस भएं । हजारौं मान्छे समुन्द्रको किनारामा थिए । रुवावासी र कोलाहल मच्चिरहेको थियो । कोही लडिरहेका थिए । कसैको शरिरबाट रगत बगिरहेको थियो । त्यत्तिकैमा स्टेटन आइल्याण्डबाट एउटा पानी जहाज आयो । हजारौं मान्छे त्यसमा छिर्न थाल्यो । कसैले नियन्त्रण गर्न सक्ने अवस्था नै थिएन । म पनि त्यसैमा चढेर स्टेटन आइल्याण्ड पुगें । त्यो रात घर फर्कन पनि सकिएन ।

मलाई सपना हो कि विपना हो ठम्याउन पनि कठिन भयो । आफू कहा छु भन्ने पनि थाहा नभएजस्तो भयो । पछि चिनेजानेका एकजना दाजु विनोद रिमालको स्टेटन आइल्याण्डस्थित घरमा बसियो । भोलिपल्ट दुईवटा बस र तीनवटा टे«न परिवर्तन गरेर घरमा आएं । घरमा आउदा मेरो ५ वर्षको छोराले म ज्यूदै घरमा आएको विश्वास नै गर्न सकेन । उसले त भूत घरमा आएजस्तो गर्न थाल्यो । मैले खुवाएको खाना खान पनि मानेन ।

त्यो घटनापछि मलाई दुईवर्षसम्म त ट्रेन चढ्न पनि डर लाग्यो । काम गर्न पनि गइन । अझै पनि कतैबाट ठूलो आवाज आयो भने निकै डर लाग्छ । ठूलो आवाज आउदा त्यही घटनाको याद आउछ ।

‘७३ सहकर्मीले ज्यान गुमाए, म यसरी बाँचें’ – शैलेश श्रेष्ठ

म त्यतीबेला जुम्ल्याहा भवनको १०६ र १०७ औं तलामा काम गर्थें । त्यहाँ रहेको विन्डोज अन द वल्र्ड रेष्टुरेन्टमा थियो मेरो जागिर । म सधै विहान ६ बजेदेखि नै काममा पुग्थें । तर सेप्टेम्बर ११ का दिनमा भने मेरो दिउसो तीनबजेदेखि साँझको काम परेको थियो । त्यसैले म विहानभर घरमै बसेको थिएं ।

मैले घरमा नै बसेर जुम्ल्याहा भवनमा आक्रमणको खबर थाहा पाएँ । आक्रमणको खबर थाहा पाएपछि म निकै आत्तिएँ । आक्रमणमा मसँगै काम गर्ने ७३ जना साथीहरुको मृत्यु भयो । संयोगबश त्यसदिन मेरो भाग्य बलियो भएकाले होला, त्यसदिन बेलुकीको काम परेकाले म बाँच्न सफल भएँ । नत्र अरु ७३ जनासँगै मेरो पनि त्यहीं दिन अन्तिम दिन हुने थियो । तर दिन नआउदासम्म केही पनि नहुने रहेछ ।

आकासे भवनका ठूला एलिभेटर छिर्दा म हिजो आज सोफोकेसन भएको अनुभूती गर्छु । सकभर एक्लै चढ्न नपरे हुन्थ्यो भन्ने लाग्छ । यी आलिशान अग्ला आकासे महलहरु बनाउने होडबाजी नगरेपनि हुन्थ्यो जस्तो लाग्छ । तर मेरो भावनाले उनीहरुको ब्यापारलाई रोक्न सक्दैन । त्यो पनि मलाई थाहा छ ।

म मन बोल्छु र यो क्षण बोलिरहेको छु । तर मेरा सहकर्मी मित्रहरुको चिहानको आसपासमा धनको खोज र खेती हुन्छ । हामी भावना बोल्छौं तर उनीहरु ब्यापार गर्छन् । नेपाल या अमेरिकाको अन्य राज्यहरुबाट आफन्त या साथीसंगीहरु आउँदा उहाहरुको घुम्ने ठाउहरुको लिष्टमा प्रायजसो ग्राउण्ड जिरो अर्थात् पहिलोको वल्र्ड टे्रड सेन्टर पर्ने गर्छ । म निरन्तर बिलखबन्दमा पर्छु ।

खुलेर भन्न सक्दिन – ‘किन घुम्न जानु मेरा सहकर्मीहरुको चिहान ?’ मेरा साथी डाक्टर प्रदीप भट्टराईले सधै लेख्ने गर्छन् – ‘साथी बोनसको जीवन पाएका र बाचेका छौ । असल र अर्थपूर्ण काम गर है ।’ मेरी श्रीमति प्राय जसो सेप्टेम्बर ११ को मेमोरियल सेरेमोनीमा जान रुचाउदैनन् ।

उनी भन्ने गर्छिन् – ‘बुढा, तिमी मञ्चमा चढेर रुन्छौ मात्र । के हेर्नु पुरुषको आँशु ?’ आँशु आखिर आँशु नै हो । कहाँ रोकिदो रहेछ र ? जसको आँखाबाट वर्षिय पनि मन दुखेर या पग्लेर झर्ने आँशुको रंग शायद उस्तै हुन्छ होला ।’

‘अबेरसम्म सुत्नाले बाँचें’ – केशव सेडाई

मेरो आफ्नै घर वल्र्डट्रेड सेन्टर नजिकै रहेपनि कार्यालय भने वल्र्डट्रेड सेन्टरकै तलपट्टीको घरमा थियो । घरबाट त्यहा पुग्न झण्डै आठ मिनेट लाग्थ्यो । त्यतीबेला म ट्रेन चढेरै मेरो ल फर्मको कार्यालयमा जाने गर्थें । म सधै विहान ८ बजे नै अफिस पुग्ने गर्थें । तर अघिल्लो दिन असाध्यै थकाई लागेकाले सेप्टेम्बर ११ को दिनमा भने अबेरसम्म सुतिएछ । अबेर भएकाले हतार हतार ल फर्मको कार्यालय तिर लागें ।

ट्रेनबाट बाहिर निस्केको मात्र के थिएं, त्यहाँ निकै ठूलो भागदौड मच्चिरहेको थियो । भर्खरै मात्र एउटा जहाजले वल्र्डट्रेड सेन्टरको एउटा भवन हिर्काइसकेको रहेछ । त्यसैले ट्रेनबाहिर निस्कनासाथ प्रहरीले अगाडि बढ्नै दिएन । प्रहरीले तुरुन्त भागिहाल्न चेतावनी दियो । सुरुमा त किन भागदौड मच्चिएको छ भन्ने भेउ पनि पाइएन । तर अलि पर पुगेपछि आकाश तिर हेर्दा त वल्र्डट्रेड सेन्टरको भवन जलिरहेको थियो । मैले सामान्य घटना होला भन्ने ठानेको त घर ध्वस्त भैरहेको पो रहेछ । पेलापेल र भागदौडमा कसकसले कसकसलाई कुल्चियो कुनै लेखा जोखा नै भएन ।

म जेनतेन अलिक पर पुगेको मात्र के थिएं, अर्को जहाज आएर वल्र्डट्रेड सेन्टरको अर्को भवनमा पनि हिर्कायो । आकासै फाट्ने गरी आवाज आउदा मेरो त सातो नै गएजस्तो भयो । आफ्नै अगाडि घर ढलेको र मान्छेहरु पुरिएर मरेको दृश्य देख्दा होसै गुमेजस्तो भयो । मान्छेहरु ज्यान जोगाउन झ्यालबाट हाम्फालिरहेका थिए । ठ्याक्कै त्यतीबेला मलाई मेरो कार्यालयमा रहेका फाइल कसरी जोगाउने भन्ने चिन्ता लाग्यो । तर फाइल जोगाउन जानसक्ने अवस्था थिएन । आठमिनेटको बाटो जेनतेन तीनघण्टा लगाएर फर्किएं । धेरै मान्छेको मृत्यु आफ्नै अगाडि देख्दा जिन्दगी भनेको पानीको फोका जस्तो लाग्यो । तर आफू बाच्न पाएकोमा निकै खुशि पनि लाग्यो ।

मेरो मिल्ने साथीले वल्र्डट्रेड सेन्टरकै ९० तलामा काम गथ्र्यो । तर उ पनि निकै संयोगले मात्र बाच्न सफल भयो । छोरीलाइ ज्वरो आएकोले त्यसदिन ऊ काममा गएको रहेनछ । त्यसैले ऊ बाच्न सफल भयो । मलाई घर फर्कदा मसानघाटबाट आएजस्तो लाग्यो । धेरैदिनसम्म खाना खान पनि मन लागेन । एकमहिनासम्म अफिस पनि जानसक्ने अवस्था थिएन । एक महिना पछि अफिसमा पुग्दा अफिसको ढोका खुल्लै थियो । अफिसभरी सिसा र फोहोर भरिएको थियो । एकमहिनासम्म त्यो क्षेत्रमा जान नपाएकाले सरकारले एकमहिना हुने कमाइको क्षतिपूर्ति पनि तिरिदियो । अहिले पनि यो भयानक घटना मेरो आखामा नाचिरहेको छ ।

खसोखास अर्काइभबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com