ट्रम्पद्वारा ३९ देशमाथि यात्रा प्रतिबन्ध विस्तार, कुन कुन देश परे?


प्रकाशित मिति : मंसिर ३०, २०८२ मंगलबार

(आधिकारिक ह्वाइट हाउस फोटो: डेनियल टोरोक)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै पूर्ण वा आंशिक यात्रा प्रतिबन्ध लगाइएका देशहरूको संख्या १९ बाट बढाएर ३९ बनाएका छन् । ह्वाइट हाउसका अनुसार सुरक्षा जाँच र सूचना आदानप्रदानमा गम्भीर कमजोरी देखिएका कारण ती देशहरुमाथि यात्रा प्रतिबन्ध लगाइएको हो ।

यस नयाँ घोषणाले सातवटा देशहरूलाई पूर्ण प्रतिबन्धको सूचीमा थपेको छ । जसमा लाओस, सिएरा लियोन, बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरिया रहेका छन् । यसअघि लाओस र सिएरा लियोनमा आंशिक प्रतिबन्ध मात्र थियो ।

त्यसैगरी आंशिक प्रतिबन्ध खेप्ने १५ नयाँ देशहरूमा अंगोला, एन्टिगुवा र बारबुडा, बेनिन, आइभोरी कोस्ट, डोमिनिका, गेबोन, गाम्बिया, मलावी, माउरिटानिया, नाइजेरिया, सेनेगल, तान्जानिया, टोंगा, जाम्बिया र जिम्बाब्वे रहेका छन्। त्यस्तै प्यालेस्टिनी अथोरिटीद्वारा जारी यात्रा कागजात बोक्ने व्यक्तिहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ।

तुर्कमेनिस्तानका नागरिकहरूका लागि गैर आप्रवासी भिसामा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ, तर उनीहरूको प्रवेशमाथिको निलम्बन भने यथावत राखिएको छ। कानुनी रूपमा स्थायी बसोबास गरिरहेका ग्रीन कार्ड वाहक, बहालवाला भिसा धारक र अमेरिकी राष्ट्रिय हितमा काम गर्ने केही निश्चित श्रेणीका व्यक्तिहरूलाई यस प्रतिबन्धमा छुट दिइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले वासिङ्टन डीसीमा एक नेशनल गार्ड सदस्यको ज्यान जाने गरी भएको गोलीकाण्डपछि अध्यागमनमा थप कडाइ गरेका हुन् । उक्त घटनाका संदिग्ध, रहमानुल्लाह लाकनवाल अफगान नागरिक हुन् । उनी जो बाइडन प्रशासनको समयमा पुनर्स्थापित भएका थिए भने ट्रम्प प्रशासनको समयमा शरण पाएका थिए।

यस घटनापछि ट्रम्पले कानुनी र गैरकानुनी दुवै किसिमका विदेशी प्रवेशमा कडाइ गर्नुका साथै सामूहिक देशनिकाला अभियान पनि चलाइरहेका छन् । हाल पूर्ण वा आंशिक प्रतिबन्धमा परेका ३९ देशहरूमा अफगानिस्तान, बर्मा, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान, भेनेजुएला, बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान, सिरिया, अंगोला, एन्टिगुवा र बारबुडा, बेनिन, कोटे डी आइभोर, डोमिनिका, गेबोन, गाम्बिया, मलावी, माउरिटानिया, नाइजेरिया, सेनेगल, तान्जानिया, टोंगा, जाम्बिया र जिम्बाब्वे रहेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com