हिंसात्मक र गैरकानुनी रूपमा नियन्त्रणमा लिएको भन्दै ग्रीनकार्ड धारकद्वारा आइसविरुद्ध मुद्दा दायर


प्रकाशित मिति : मंसिर ३०, २०८२ मंगलबार

कानुनी हैसियत भएकी एक आप्रवासी महिला र उनका दुई अमेरिकी नागरिक सन्तानले इमिग्रेशन एन्ड कस्टम्स एनफोर्समेन्ट (आइस)विरुद्ध मुद्दा दायर गरेका छन्। अमेरिकाको म्यासाचुसेट्समा भएको कथित “हिंसात्मक र गैर कानुनी” नियन्त्रणपछि उनीहरू अस्पताल भर्ना हुनुपरेको दाबी गरिएको छ।

२० वर्षभन्दा बढी समयदेखि अमेरिकामा बस्दै आएकी ग्रीन कार्ड धारक हिल्डा रामिरेज सानान र उनका दुई सन्तानलाई सेप्टेम्बर २६ मा चेल्सीस्थित अदालत परिसरमा नियन्त्रणमा लिइएको मुद्दामा उल्लेख छ। उनीहरू उनका भिनाजुलाई अदालत सुनुवाइमा साथ दिन गएका बेला चिन्हविहीन आइस सवारीसाधनले कार घेराबन्दी गरेको आरोप छ।

मुद्दाअनुसार, अधिकारीहरूले आफूहरूको पहिचान नखुलाई कारका सिसा फुटाएर रामिरेज सानानलाई पक्राउ गरेका थिए। उनका वकिलहरूले पक्राउको क्रममा अत्यधिक बल प्रयोग गरिएको र यो सबै उनका सन्तानको अगाडि भएको बताएका छन्। उनका १३ वर्षीय छोरा (जो अटिजम स्पेक्ट्रममा छन्) लाई पनि कारबाट निकालेर सोधपुछ गरिएको दाबी गरिएको छ।

घटनापछि रामिरेज सानान र उनका सन्तानलाई एम्बुलेन्समार्फत आपत्कालीन कक्षमा लगिएको थियो। वकिलहरूका अनुसार रामिरेज सानानलाई टाउकोमा चोट, नीलडाम र हातमा समस्या देखिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“मेरो परिवार गम्भीर रूपमा प्रभावित भएको छ,” रामिरेज सानानले भनिन्, “यस घटनाले मेरा सन्तानलाई गहिरो मानसिक आघात पुर्‍याएको छ।”

रामिरेज सानानका तर्फबाट नागरिक अधिकारसम्बन्धी समूह ‘लयर्स फर सिभिल राइट्स’ ले १० लाख अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेको हो। समूहले आइस अधिकारीहरूको व्यवहार गैर कानुनी, अमानवीय र जबाफदेहिताविहीन भएको दाबी गरेको छ । यस विषयमा आइसले आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com