अमेरिकामा सोमबार भयानक आँधी आउने, फ्लोरिडामा संकटकाल


प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार

अमेरिकाको फ्लोरिडा राज्यको पूर्वीय भागमा सोमबार भयानक आँधी आउने चेतावनी दिइएको छ । डोरियन नामको उक्त आँधी आज विहान एटलान्टिक ओसन पार गर्ने मौसमविदहरुले जानकारी दिएका छन् ।

१ सय ५ माइल प्रतिघण्टाको दरमा आँधी अमेरिका प्रवेश गर्ने जनाइएको छ । आइतबार बहामसहुँदै आँधी अगाडि बढ्ने जनाइएको छ । एटलान्टिक हरिकेन सिजनकै सबैभन्दा ठूलो यो आँधी फ्लोरिडा प्रवेश गर्नुअगाडि त्यसको सामना गर्न र बच्न तयारीहरु गरिएको छ ।

इन्टरनेशनल स्पेस स्टेशनबाट खिचिएको डोरियन आँधीको भिडियो ।

आँधीको समयमा घरभित्रै बस्न, झ्यालढोकाहरु प्लाइउडले संरक्षण गर्न, ताजा अपडेटका लागि स्थानीय रेडियो टेलिभिजन हेर्न, मोबाइल रेडक्रसको आपतकालिक एप्लिकेशन डाउनलोड गर्न, हरिकेन बत्ति राख्न, आफ्ना घरपालुवा जनावरमा पहिचान खुल्ने ट्याग लगाइदिन, स्थानीय आपतकालिन सेल्टरहरु खोज्न, प्लास्टिकका बोतलहरु पानीले भरेर राख्न सुझाव दिइएको छ ।

आँधी विहिबार क्यारेबियन समुन्द्र हुँदै अगाडि बढेको थियो । शुक्रबार तेश्रो श्रेणी वा त्यो भन्दा माथिको बन्ने उक्त आँधीको प्रभाव बुधबारसम्म रहने अनुमान गरिएको छ ।

आँधीका कारण फ्लोरिडामा कैयन विमानहरुले यात्रुहरुलाई विना थप शुल्क टिकटहरु परिवर्तन गर्ने सुविधा समेत दिएका छन् । फ्लोरिडा राज्यभरी संकटकालको समेत घोषणा गरिएको छ । त्यहाँका गभर्नरले कम्तीमा एकसाताका लागि खाना, पानी र औषधीको जोहो गर्न स्थानीयबासीलाई सुझाव दिएका छन् ।

आँधीको चेतावनीपछि स्थानीयबासिन्दाहरुले सामान किन्दा कैयन स्टोरहरु खाली भइसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com