अमेरिकामा बेरोजगारी भत्ता लिनेको संख्या ४ हजारले वृद्धि


प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार

संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।

विभागका अनुसार अगस्ट २४ सम्ममा अमेरिकामा बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्या चार हजारले वृद्धि भई दुई लाख १५ हजार पुगेको छ । यहीबीच, अघिल्लो साता बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्याको संशोधित संख्या दुई हजारले वृद्धि भई दुई लाख ११ हजार पुगेको विभागको भनाई छ ।

संयुक्तराज्य अमेरिकामा बेरोजगारी मापनको प्रमुख सूचक मानिएको यस तथ्याँकले रोजगारी गुमाउनेको संख्यामा वृद्धि नभएको देखाएको छ । अमेरिकामा बेरोजगारी भत्ता लिनेहरुको संख्या तीन लाखभन्दा कम रहेकाले अमेरिकी श्रम बजार निकै प्रतिस्पर्धी रहेको विभागको अनुमान छ ।

अमेरिकी श्रम बजारमा रोजगारदाताहरुले जुलाई महिनामा मात्र एक लाख ६४ हजार नयाँ रोजगारी सिर्जना गर्न सफल भएका छन् । विभागका अनुसार अमेरिकी बेरोजगारी दर ३।७ प्रतिशतको हाराहारीमा रहेको छ । विभागले अगस्ट महिनाको बेरोजगारी दरसम्बन्धी प्रतिवेदन आगामी सेप्टेम्बर ६ मा सार्वजनिक गर्दैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com