लुम्बिनीजाने सडक धुलाम्मे, लुम्बिनी घुम्न जाँदा धुलोले नचिनिने भएर फर्कनुपर्ने बाध्यता
प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार
सडक विस्तारको कार्य जारी रहेकाले भैरहवादेखि लुम्बिनीसम्म २२ किलोमिटर सडक धुलाम्य छ । जसको कारण लुम्विनीमा आउने पर्यटकहरुलाई केही असहज अवस्था आएको छ ।
ठेकेदार कम्पनीले धुलो नियनत्रणको लागि दिनहु पानी छ्यापेको दावी गरेपनि धुलो नियन्त्रणमा आउन सकेको छैन । सन् २०२० जनवरी सम्ममा सडक विस्तारको कार्य पुरा हुनुपर्नेमा अहिले सम्म जम्मा ३५ प्रतिशत काम पुरा भएको छ ।
लुम्विनीमा जाने पर्यटकहरुले धुलो र उवाड खवाड सडकले यात्रामा सास्ती भएको भैरहवाका संचारकर्मी चेतन पन्तले बताए । ‘कसैलाई मोटरसाइलकमा लुम्विनी घुमाउन लैजाने हो भने धुलोले नचिनिने भएर फर्किनुपर्ने अवस्था छ । गाडीमा गएपनि गाडी धुलाम्मे भएर फर्केपछि नधोइकन चलाउन सम्भव हुँदैन । ’ उनले भने ।
भारतीय कम्पनी गवाँर कन्सट्रक्सनले निर्माणको जिम्मा लिएको छ । ठेकेदार कम्पनीको लापरवाहीले त्यहाँ घुम्न आउने पर्यटकले धुलोको सास्ती व्यहोर्नु परेको छ । नियमित रुपमा धुलो नियन्त्रणको लागी पानी छर्किएको देखिदैन ।
लुम्विनी जाने सडक छेउछाउमै सिमेण्ट छडको ठूलठूला उद्योगहरु छन । कच्चा पदार्थ र तयारी माल सामानको ढुवानीको लागी ढुवानीको साधनको चापले भैरहवा –लुम्विनी, लुम्विनी तौलिहवा सडक निकै व्यस्त रहने गर्छ ।
प्रदेश सरकारले लुम्बिनीमा २० लाख पर्यटन भित्राउने लक्ष्य सहित लुम्विनी भ्रमण वर्ष –२०७६ घोषणा गरेको छ ।
सडकको अवस्थाको कारण लक्ष्य अनुसार पर्यटक भित्राउन सकिनेमा चुनौती देखिन्छ । आन्तरिक तथा वाह्य पर्यटकको आवागमनमा सहजता ल्याउन सकिएन भने लुम्विनी भ्रमण वर्ष प्रभावित हुने पर्यटन व्यवसायीहरु बताउछन ।









