रवि लामिछानेविरुद्ध पुडासैनी पत्‍नीने दिईन, किटानी जाहेरी


प्रकाशित मिति : भाद्र १, २०७६ आईतबार

सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता भएको छ ।चितवनमा झुन्डिएको अवस्थामा भेटिएका पत्रकार सालिकराम पुडासैनीकी पत्नी सम्झना पुडासैनीले आइतबार परिसरमा पुगेर रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार सम्झनाले आत्महत्यामा दुरुत्साहन गर्ने तीनैजनाविरुद्ध हदैसम्मको कारबाही माग गर्दै जाहेरी दिएकी हुन् । उनले काठमाडौंमा दर्ता गरेको जाहेरी चितवन पठाउने तयारी भइरहेको बोगटीको भनाइ छ ।

लामिछानेसहित तीनविरुद्ध चितवनमा आत्महत्या दुरुसाहन मुद्दामा अनुसन्धान भइरहेको छ । शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो । रवि र युवराजलाई प्रहरीले बिहीबार साँझ न्युज २४ च्यानलको कार्यालय पानीपोखरीबाट पक्राउ गरेको थियो । बिहीबार दिउँसो पक्राउ परेकी अस्मितासहित तीनैजनालाई प्रहरीले बिहीबार राति चितवन पुर्याएको थियो ।

पुडासैनीले आत्महत्याअघि अस्मिता भनिने रुकु कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ। पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com