मध्यवधि चुनावअघि ट्रम्पको निशानामा बाइडेन: यस वर्ष मात्रै ९०० पटक नाम उच्चारण
प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार
फोटो: एपी/रासस
आगामी नोभेम्बरको मध्यवधि चुनावमा कंग्रेसमा आफ्नो झिनो बहुमत जोगाउन सङ्घर्षरत रिपब्लिकनहरूका माझ राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनलाई नै मुख्य राजनीतिक निशाना बनाएका छन्। एक समीक्षा अनुसार उनले यस वर्ष मात्रै बाइडेनको नाम करिब ९०० पटक लिएका छन्।
८३ वर्षीय पूर्वराष्ट्रपति बाइडेन स्टेज-४ को क्यान्सरसँग जुध्दै सार्वजनिक जीवनबाट लगभग टाढा भइसकेका छन्। यद्यपि, ट्रम्पले आफ्ना भाषण, टिप्पणी र ‘ट्रुथ सोसल’पोस्टहरूमा दैनिक औसत तीन पटक बाइडेनलाई निशाना बनाउने गरेका छन्। उनले मुद्रास्फीति र अध्यागमनदेखि लिएर सैन्य गोलाबारुदको अभावसम्मका समस्याहरूको दोष बाइडेनमाथि नै थुपारेका छन्।
नोभेम्बर ३ को मध्यवधि चुनाव आउन ६ हप्ता मात्र बाँकी रहँदा, ट्रम्पको यो रणनीति मतदातालाई आफ्ना वर्तमान समस्याभन्दा अघिल्लो प्रशासनका असफलताहरूमा केन्द्रित गराउने प्रयासका रूपमा हेरिएको छ।
“डेमोक्र्याटहरूले ‘स्लीपी जो बाइडेन’ को नेतृत्वमा तपाईंहरूलाई चार वर्ष विनाश, अराजकता र मृत्यु मात्र दिए,” सेप्टेम्बर ९ मा डल्लासमा आयोजित रिपब्लिकन मध्यवधि सम्मेलनमा ८० वर्षीय ट्रम्पले भने।
रिपब्लिकन रणनीतिकार रायन विलियम्सका अनुसार ट्रम्पलाई सधैँ एक विरोधीको आवश्यकता पर्छ र सिङ्गो पार्टीलाई भन्दा एक व्यक्तिलाई निशाना बनाउन सहज हुन्छ। “उनले आफ्नो कार्यकालभरि नै यस्तै गर्दै आएका छन्,” विलियम्सले भने, “आफूले भोगिरहेका वर्तमान समस्याहरूबाट ध्यान मोड्न उनी यो रणनीति अपनाउँछन्।”
राष्ट्रपति ट्रम्पले यस वर्षको जनवरी १ देखि यता कम्तीमा ८९० पटक पूर्वराष्ट्रपति बाइडेनको नाम लिएका छन्। यसमा करिब २०० वटा सार्वजनिक कार्यक्रम तथा अन्तर्वार्ताहरू र १९० वटा ट्रुथ सोसलका पोस्टहरू समावेश छन्।
उनले आफ्ना अभिव्यक्तिहरूमा मुख्य गरी अर्थतन्त्रको मुद्दामा २१० भन्दा बढी पटक बाइडेनको चर्चा गरेका छन्। त्यस्तै, अध्यागमनसम्बन्धी विषयमा १६८ पटक र विदेश नीति तथा राष्ट्रिय सुरक्षाका मामिलाहरूमा १३८ पटक बाइडेनलाई जोड्दै आफ्ना भनाइहरू राखेका छन्।
ट्रम्पले प्रथम महिला मेलानिया ट्रम्पको फिल्म प्रिमियर, नेसनल प्रेयर ब्रेकफास्ट र ह्वाइट हाउसको इस्टर एग रोल जस्ता विविध कार्यक्रमहरूमा पनि बाइडेनको आलोचना गरेका छन्। जुलाईमा टर्कीमा भएको नाटो बैठकका क्रममा ट्रम्पले एकै दिन १६ पटक बाइडेनको नाम लिएर नयाँ रेकर्ड कायम गरे।
ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले ट्रम्पको बचाउ गर्दै भनिन्, “जो बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा खराब राष्ट्रपति हुन् र राष्ट्रपति ट्रम्पले उहाँको भद्रगोल सफा गर्दै अमेरिकालाई बलियो बनाउन हरेक दिन काम गरिरहनुभएको छ।”
अर्कोतर्फ, बाइडेनका पूर्व वरिष्ठ अधिकारी मेगन हेसले यसलाई ट्रम्पको “सनक”को संज्ञा दिइन्। “एक वर्षभन्दा कम समयमा ९०० पटक नाम लिनु शासन चलाउनु होइन, यो एक सनक हो,” उनले भनिन्।
फेब्रुअरीमा ट्रम्पले अर्थतन्त्रको जिम्मेवारी आफ्नै भएको बताएका थिए। तर, हाल जनमत सर्वेक्षणहरूमा जनता उनीप्रति असन्तुष्ट देखिएपछि उनले महँगीको दोष बाइडेनमाथि थोपर्न थालेका छन्। ट्रम्पको कार्यकालमा मासिक औसत मुद्रास्फीति २.९४% रहे पनि पछिल्लो महिना यो ३.४% पुगेको छ, जसको मुख्य कारण इरानसँगको युद्धलाई मानिएको छ।
अध्यागमनको मुद्दामा ट्रम्पको कडा नीतिको देशभर विरोध भएपछि उनले बाइडेनको “खुल्ला सीमा नीति” लाई दोष दिएका छन्।
त्यस्तै, इरानसँगको युद्ध र युक्रेन संकटमा पनि ट्रम्पले बाइडेनलाई नै दोषी ठहर्याएका छन्। उनले अमेरिकी क्षेप्यास्त्र र गोलाबारुदको भण्डार रित्तिएकोमा बाइडेनले युक्रेनलाई धेरै सहयोग दिएको दाबी गरेका छन्।





