पृथ्वीको नजिकैबाट गयो छुद्रग्रह, ठोक्किएको भए एउटा देशै ध्वस्त पार्ने क्षमता


प्रकाशित मिति : श्रावण २६, २०७६ आईतबार

एम्पायर स्टेट भवन भन्दा ठूलो छुद्रग्रह अगस्त १० मा पृथ्वी नजिकैबाट विना क्षति गएको छ । १८७० फिट परिधि रहेको २००६ क्युक्यु २३ नामको उक्त छुद्रग्रह पृथ्वीमा ठोक्किएको भए एउटा सिंगै देशजति क्षेत्रमा क्षति पुग्ने अनुमान गरिएको थियो ।

पृथ्वीको नजिकै भएर गएको उक्त छुद्रग्रह पृथ्वीको सतहमा बिष्फोट भएको भए अमेरिकाको एउटा राज्यजति वा एउटा सानो देशजति क्षेत्रमा क्षति पुग्ने अनुमान नासाले गरेको थियो । यो छुद्रग्रह सूर्यलाई परिक्रमा गर्ने छुद्रग्रहहरुमा ठूलोमध्येको एक रहेको जनाइएको छ ।

वैज्ञानिकहरुले चिलीमा रहेको विश्वकै सबैभन्दा ठूलो दुरविनको सहायताले उक्त छुद्रग्रहको निरिक्षण गरेका हुन् । यो छुद्रग्रह सन् २००६ को अगस्त २१ मा पत्ता लागेको थियो । त्यतीबेला पनि यो पृथ्वीमा ठोक्किन सक्नेबारे चिन्ता व्यक्त गरिएको थियो । वैज्ञानिकहरुले त्यतीबेला लगातार १० दिनसम्म यसको पिछा गरेका थिए ।

यो छुद्रग्रहले २६३ दिनमा सूर्यको एक परिक्रमा गर्दै आएको छ । अगस्त १० मा यो ग्रह पृथ्वीबाट शुन्य दशमलव शुन्य ४९७७ एष्ट्रोनोमिकल युनिटको दुरीमा आएको थियो ।

सौर्यमण्डलमा १ किलोमिटरभन्दा ठूलो परिधि भएका झण्डै ९ सय छुद्रग्रहहरु रहेको जनाइएको छ । सन् २०१३ मा ५५ फिट परिधिको छुद्रग्रह पृथ्वीको सतहमा विष्फोट हुँदा रसियामा झण्डै १ हजार जना घाइते भएका थिए । त्यतीबेला रसियामा ६६ फिट गहिरो खाडल परेको थियो ।

करोडौं बर्ष पहिलो पृथ्वीमा १० किलोमिटर परिधिको एउटा छुद्रग्रह ठोक्किदा डायनोशर लगायतका प्रजातीहरु लोप भएका थिए । सन् २०१२ मा पनि बसको आकारको एउटा छुद्र ग्रह पृथ्वीको नजिकबाट गोलीको गतिभन्दा १० गुणा छिटो गएको थियो । गत जुलाई १९ मा पनि एउटा छुद्रग्रह पृथ्वीको नजिकबाट गएको थियो ।

यदि त्यस्ता छुद्रग्रहहरु पृथ्वीतिर ठोक्किन आइपुगेको खण्डमा पनि नासासँग त्यसको बाटो परिवर्तन गर्ने साधनश्रोत रहेको छ । नासाले त्यस्ता छुद्रग्रह पृथ्वीतिर आउदै गरे नगरेकोबारे प्रसस्त जानकारी राख्ने र त्यसबारे चेतावनी संकलन गर्ने समेत गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com