क्याथे प्यासेफिक लगायतका एयरलाइन्सले जहाजभित्र यात्रुको निरिक्षण गरिरहेको खुलासा


प्रकाशित मिति : श्रावण २०, २०७६ सोमबार

तपाई अमेरिका जानेआउनेत्र क्रममा क्याथे प्यासेफिक एयरलाइन्स चढ्नुभएको छ ? यदि छ भने तपाईले विमानभित्र रहँदा गरेका गतिविधिका तस्वीर र विवरणहरु क्याथे प्यासेफिकको निगरानीमा परेका छन् ।

विश्वको चर्चित मध्येको एक क्याथे प्यासेफिक एयरलाइन्सले जहाजभित्र यात्रुहरुको क्यामेरामार्फत निरिक्षण गरिरहेको खुलासा भएको छ । क्याथेले पनि आफूहरुले विमानभित्र सिटमा रहेका यात्रुको तस्वीरहरु संकलन र मनोरञ्जनमा कसरी समय व्यतित गरेका छन् भन्नेबारेमा निगरानी गरिरहेको स्वीकार गरेको छ ।

एयरलाइन्सले ती फुटेज र तस्वीरहरु सीसीटिभी क्यामेरामार्फत संकलन गरेको जनाएको छ । एयरलाइन्सको यो खुलासाले यात्रुहरुको गोप्यताबारे अलिकति असहज बहसको सृजना गरिदिएको छ ।

सबै तस्वीरहरु अत्यन्तै संवेदनशिल तरिकाले कडा नियमका साथ परिचालन गरिएको जनाएको छ । तर ट्वाइलेटमा भने क्यामेरा नराखिएको क्याथेले जनाएको छ । क्यामेराहरु सुरक्षाका दृष्टिकोणले राखिएको जनाइएको छ ।

यसअगाडि पनि कैयन एयरलाइन्सहरुले मनोरञ्जन प्रणालीमा क्यामेरा जडान गरिएको स्वीकार गरेका थिए । तर सिंगापुर एयरलाइन्स, इमिरेट्स र अमेरिकनले भने क्यामेरा जडान गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।

कतिपयले सुरक्षाको दृष्टिकोणले क्यामेरा जडान गर्नुलाई सकारात्मक बताएका छन् । तर कैयनले भने विमानस्थलभित्र सिटमा बसेका यात्रुको गतिविधि क्यामेराबाट निरिक्षण गरेर विवरण संकलन गर्नुलाई गोप्यतासँग जोडेर हेरेका छन् ।

क्याथे प्यासेफिकको सन्दर्भमा भने विगतमा तथ्यांक चोरीको समस्या समेत देखिएको थियो । सन् २०१८ मा क्याथे प्यासेफिकबाट झण्डै ९ मिलियन यात्रुका विवरणहरु चोरी भएका थिए । ब्रिटिस एयरवेजबाट पनि सन् २०१८ मा यात्रुका विवरणहरु चोरी हुँदा २३० मिलियन डलर जरिवानाको सामना गर्नुपरेको थियो ।

यसअगाडि अमेरिकाका दुईजना सिनेटरले विमानको यात्रु सिटमा रहेको मनोरञ्जन प्रणालीमा जोडिएका क्यामेराहरु र त्यसको प्रयोगबारे संसदमै प्रश्न उठाएका थिए । सिंगापुर एयरलाइन्स लगायतले यसरी आन्तरिक मनोरञ्जन प्रणालीमा क्यामेरा जडान गरिएको अस्वीकार समेत गरेका थिए ।

यात्रुहरु सिटमा सुत्दा, खाँदा र गोप्य कुराकानी गर्दासमेत क्यामेराबाट निरिक्षण गरिनुले गोप्यताको प्रश्न उठाएको थियो । अमेरिकी संसदमा पेश गरिएको एउटा विधेयकमा सिटमा रहेका क्यामेराका लेन्सहरु हटाउनुपर्ने, स्थायीरुपमा बन्द गर्नुपर्ने वा ढाक्नुपर्ने प्रावधान राखेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com