पेन्सिलभेनिया र वासिंटनमा ड्राइभर लाइसेन्समा लैंगिक तटस्थता


प्रकाशित मिति : श्रावण १५, २०७६ बुधबार

अमेरिकाको पेन्सिलभेनिया राज्यमा अब छिट्टै ड्राइभरहरुले लाइसेन्स लिंदा लैंगिक तटस्थतासहितको लाइसेन्स लिन पाउने भएका छन् । चालकहरुले पुरुष वा महिलाको ठाउँमा एक्स छनौट गर्न पाउने भएका छन् ।

यो परिवर्तन आगामी बर्षदेखि लागु हुने अपेक्षा गरिएको छ । राज्यको यातायात विभागले यस सन्दर्भमा अन्य राज्यको अवस्था समेत हेरिरहेको जनाइएको छ ।

अर्कान्सास र मेन जस्ता राज्यहरुमा यस अगाडि नै पुरुष र महिलाबाहेकको विकल्पसहितको लाइसेन्स जारी गरिदै आएको छ । पेन्सिलभेनियाका यस्तो परिवर्तनको लागि संसदको अनुमति आवश्यक नभएको जनाइएको छ ।

लैगिक अवस्थामा एक्सले पुरुष र महिलाबाहेक अन्य भन्ने जनाउँछ । वासिंटन राज्यमा पनि महिला र पुरुषका अतिरिक्त एक्स छनौट गर्न पाउने गरी ड्राइभर लाइसेन्स जारी गर्न लागिएको छ । वासिंटन राज्यमा यस अगाडि नै जन्मदर्ता प्रमाणपत्रमा महिला र पुरुषबाहेक एक्स उल्लेख गर्न पाउने नियम ल्याइसकिएको छ ।

सन् २०१८ को जनवरीमा नयाँ नियम कार्यान्वयन भएदेखि ५९ जनाले आफ्नो जन्मदर्ता प्रमाणपत्रमा लैगिक अवस्थालाई एक्समा परिवर्तन गर्नका लागि आवेदन दिइसकेका छन् । अहिलेसम्म जन्मदर्ता प्रमाणपत्रमा एक्स छनौट गरेकाले समेत ड्राइभर लाइसेन्समा महिला वा पुरुष छनौट गर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई हटाउन नयाँ परिवर्तनको तयारी गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com