अमेरिकाको क्यालिफोर्नियामा,गोली चल्दा तीन जनाको मृत्यु, १५ घाइते


प्रकाशित मिति : श्रावण १३, २०७६ सोमबार

लस एन्जेलस, एएफपी/अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खानेकुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ ।

‘द गिलरोए गार्लिक फेस्टिबल’ नाम दिइएको यस मेलाको अन्तिम दिन आइतबार मेलामा सहभागी हुन आएका व्यक्तिमाथि गोली प्रहार हुँदा अरु पन्ध्र व्यक्ति घाइते भएका छन् ।

यस आक्रमणको क्रममा एक संदिग्ध बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सान जोसे शहरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा रहेको गिलरोए शहरमा सो गोलीकाण्ड भएको थियो ।

एक मिनेटभन्दा पनि कम समयमा उक्त गोलीकाण्ड भएको जनाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार एक बन्दुकधारीले अर्धस्वचालित बन्दुकबाट गोली प्रहार गरेका थिए । तीन दिनको यस पर्वमा लसुनका परिकार हेर्न हजारौं व्यक्ति भेला भएका थिए ।

लसुनबाट बन्ने विभिन्न परिकारको प्रतियोगिताको रुपमा रहेको यस मेलामा हरेक वर्ष करिब एक लाख व्यक्तिको उपस्थिति रहँदै आएको मेला आयोजकहरुले बताएका छन् । मेलामा लसुनबाट बन्ने विभिन्न खानेकुरा र पेयपदार्थ राखिएका थिए ।

यस बन्दुक आक्रमणको खास कारण भने प्रष्ट हुन सकेको छैन । अमेरिकामा वर्षैपिच्छे ठुल्ठूला गोलीकाण्ड हुने गरेका छन् जहाँ अत्याधिक हतियारको आडमा आममानिसमाथि जथाभावी गोली प्रहार हुने गरेको छ । बन्दुक हिंसाका कारण अमेरिकामा बर्सेनि ४० हजारको हाराहारीमा मानिसको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com