फेसएप प्रयोगका शर्त : तपाईका तस्वीर अनिश्चितकालका लागि कम्पनीलाई निशुल्क


प्रकाशित मिति : श्रावण २, २०७६ बिहीबार

व्यक्तिको तस्वीर अपलोड गरेर बुढो वा जवान तस्वीर निर्माण गरिदिने भाइरल एप्लीकेशनल फेसएपको प्रयोगका शर्तबारे विवाद र चासो बढेको छ । अमेरिकामा कार्यालय रहेपनि रसियाबाट संचालन हुँदै आएको उक्त एप्लीकेशनले १५० मिलियन व्यक्तिका तस्वीर र नाममा पहुँच कायम गरिसकेको छ ।

फेसएप प्रयोगकर्ताहरुले उक्त कम्पनीलाई आफ्ना तस्वीर र नामहरु कम्पनीले चाहेको कुनै पनि उद्देश्यका लागि अनिश्चितकालसम्म निशुल्क प्रयोग गर्नका लागि अनुमति प्रदान गरिरहेका छन् । उक्त शर्त फेसएपले प्रयोगका शर्त शीर्षकमार्फत समेत स्पष्ट पारेको छ ।

फेसएपको प्रयोगका शर्तमा भनिएको छ – ‘तपाईले फेसएपलाई आफ्ना तस्वीरहरु मिडियाका अहिलेका फम्र्याट तथा च्यानल र भविश्यका फम्र्याट तथा च्यानलमा तपाईलाई कुनै क्षतिपूर्ति विना निरन्तर, अपरिवर्तनीय, अनन्य, निशुल्क, विश्वब्यापी, ट्रान्सफर गर्न मिल्ने, पुनरोत्पादन, संसोधन, प्रकाशन, अनुवाद, वितरण गर्न पाउने अधिकार प्रदान गर्नुभएको छ ।’

यदि तपाईले यो एप्लीकेशनको प्रयोग गर्नुभएको छ भने तपाईका सामाग्रीहरु फेसएपले चाहेजति समयमा चाहेजस्तो तरिकाले प्रयोग गर्न पाउने लाइसेन्स तपाईले प्रदान गरिरहनुभएको छ । तपाईले एप्लीकेशन फोनमा डाउनलोड गरेर प्रयोग नगरेपनि त्यसले भने काम गरिरहने जनाइएको छ ।

फेसएपले तपाईको ग्यालरीमा रहेका सबै तस्वीरमा मात्र नभई सिरी र सर्चमा समेत पहुच प्राप्त गर्ने जनाइएको छ । तर फेसएपले भने प्रयोकर्ताले छानेका तस्वीरमा मात्र आफ्नो पहुच कायम हुने र प्रयोगकर्ताले आफ्नो नाम वा इमेल नदिइकनै पनि फोटो अपलोड गर्नसक्ने बताएको छ । आफूहरुले प्रयोगकर्ताका तस्वीर प्रणालीबाट २४ घण्टामा नै हटाउने फेसएपको दावी छ ।

त्यस्तै रसियाको सरकारी निकायको प्रयोगकर्ताका तस्वीरमा पहुच नहुने पनि फेसएपको दावी छ । रसियाका प्रयोगकर्ताबाहेक अन्य देशका प्रयोगकर्ताको डाटाहरु रसियामा नजाने फेसएपले जनाएको छ । मोबाइलमा डाउनलोड भएको एप्लीकेशन डिलिट गर्दैमा तपाईले पहिले स्वीकृति प्रदान डाटाहरु डिलिट नहुने तथा क्लाउडमा रहेका डाटाहरु सर्भरबाटै हटाउनका लागि फेसएपलाई अनुरोध गर्नुपर्ने फेसएपले स्पष्ट पारेको छ ।

कतै तपाईको ग्यालरीमा रहेका कुनै गोप्य तस्वीर वा कागजात एपको पहुचमा त पुगिसकेका छैनन् ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com