बुढो वा जवान देखाउने फेसएपबारे अनुसन्धान गर्न अमेरिकी सिनेटरको एफबीआईलाई आग्रह


प्रकाशित मिति : श्रावण २, २०७६ बिहीबार

अमेरिकी सिनेटका डेमोक्रेटिक नेता चक शुमरले फेसएपबारे अनुसन्धान गर्न एफबीआईलाई अनुरोध गरेका छन् । व्यक्तिको तस्वीर अपलोड गरेर बुढो वा जवान देखाउन मिल्ने उक्त मोबाइल एप्लीकेशनबाट अमेरिकी नागरिकका व्यक्तिगत डाटाहरु चोरीहुनसक्ने भन्दै शुमरले चासो देखाएका हुन् ।

रसियन कम्पनीले बनाएको उक्त मोबाइल एप्लीकेशन समस्याग्रस्त रहेको भन्दै चक शुमरले उक्त एप्लीकेशनबाट व्यक्तिगत डाटाहरु विदेशी शक्तिसमक्ष पुग्नसक्ने बताएका छन् । पछिल्लो समयमा फेसएप नामको यो एप्लीकेशन भाइरल भइरहेको छ ।

सेन्ट पिटर्सबर्गमा रहेको फेसएपको कम्पनीले आफ्नो एप्लीकेशन रसियन कम्पनीमाफर्त निर्माण गरेको थियो । वायरलेस ल्याब नामको फेसएप कम्पनीले व्यक्तिका तस्वीरहरु स्थायीरुपमा स्टोर गरेर नराख्ने दावी गरेको छ । फेसएप प्रयोग गर्दा मोबाइलको ग्यालरीमा रहेका सबै तस्वीरमा एप्लीकेशनको पहुच पुग्ने भएकाले ग्यालरीमा रहेका गोप्य तस्वीरहरु समेत चुहिनसक्ने भन्दै चासो व्यक्त गरिएको छ ।

एप्लीकेशनको रिसर्च एण्ड डेभलपमेन्टको मुख्य टिम रसियामा रहेपनि प्रयोगकर्ताका तथ्यांकहरु रसियामा स्थानान्तरण नगरिएको कम्पनीले जनाएको छ । कम्पनीले यस्तो दावी गरेपनि अमेरिकी सिनेटर शुमरले यसबारे अनुसन्धान गर्न एफबीआई र फेडरल ट्रेड कमिशनलाई आग्रह गरेका हुन् ।

फेसएप कम्पनीले आफ्ना ८० मिलियन सकृय प्रयोगकर्ताहरु रहेको जनाएको छ । नेपालमा पनि यो एप्लीकेशन निकै लोकप्रिय बनेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com