क्यालिफोर्नियामा ७ दशमलव १ रेक्टर स्केलको अर्को भूकम्प (फोटो फिचर)


प्रकाशित मिति : असार २१, २०७६ शनिबार

क्यालिफोर्नियामा शुक्रबार बेलुका ७ दशमलव १ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । २८ हजार बासिन्दा रहेको क्यालिफोर्नियाको रिजक्रिस्टमा भूकम्पको सबैभन्दा ठूलो धक्का महसुस गरिएको थियो ।

विहिबारको भूकम्प र त्यसपछिका पराकम्पहरुका कारण त्यसक्षेत्रका बासिन्दाहरु राम्रोसँग सुत्नसमेत नसकेको जनाइएको छ । भूकम्पका कारण कैयन भवनहरुमा क्षति पुगेको छ भने सडकहरुमा चिरा परेको छ । भूकम्पबाट पानीका पाइपहरु पनि टुटेका छन् ।

बिहिबारको भूकम्पपछि त्यसक्षेत्रमा ४७ सय भन्दा धेरै पराकम्पहरु गएका छन् । हरेक तीनसेकेण्डदेखि एकमिनेटभित्र भूकम्पका धक्काहरु महसुस भइरहेका छन् । शुक्रबारको भूकम्पपछि पनि ५ रेक्टर स्केलभन्दा माथिका तीनवटा पराकम्पहरु गएका छन् ।

बेकरफिल्ड र ट्रोनका १३० बासिन्दाहरु अस्थायी सेल्टरमा बसिरहेका छन् । केर्न काउन्टीका गर्भनरले त्यसक्षेत्रमा संकटकालको घोषणा गरेका छन् ।

भूकम्पपछि कैयन आगलागीका घटनाहरु समेत भएका छन् । २ हजार जना बस्ने ट्रोनामा पानी र विद्युत आपूर्तिमा अवरोध सृजना भएको छ । भूकम्पको धक्का मेक्सिको र लास भेगासमा समेत अनुभव गरिएको छ ।

७ रेक्टर स्केलभन्दा माथिको भूकम्प जाने सम्भावना अझै ३ प्रतिशत वा त्योभन्दा माथि रहेको भूगर्भविदहरुले चेतावनी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com