नेपाली समुदायलाई मुलधारमा समाहित गराउनेबारे अमेरिकी राजनीतिज्ञसँग छलफल


प्रकाशित मिति : असार १७, २०७६ मंगलबार

अमेरिकामा रहेको नेपाली समुदायलाई अमेरिकी राजनीतिको मुलधारमा समाहित गराउनेबारे अमेरिकी राजनीतिज्ञहरुसँग छलफल गरिएको छ । मेरिल्याण्डको सिल्भर स्प्रींगमा आयोजित भेटघाट कार्यक्रममा अमेरिकी राजनीतिमा सकृय नेपाली र भारतीय मुलका व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो ।

छलफलमा सहभागी मेरिल्याण्ड राज्य संसदका पूर्व सांसद तथा मोन्टगोमेरी काउन्टी काउन्सिलका वर्तमान सदस्य टम हकरले डाइभर्सिटीको कारणले अमेरिका विकशित भएको भन्दै नेपाली समुदायलाई मुलधारको अमेरिकी राजनीतिमा समाहित हुन आग्रह गरे । कार्यक्रममा मेल्यिाण्ड राज्यसंसदका सांसद कुमार बार्बेले आफ्नो समुदायका लागि आफै मुलधारको राजनीतिमा आउनुपर्ने बताए ।

बार्बे मेरिल्याण्डको संसदमा प्रतिनिधित्व गर्ने पहिलो भारतीय मुलका अमेरिकी हुन् । सन् १९९१ देखि लगातार मेरिल्याण्डको संसदमा निर्वाचित उनी वातावरण तथा यातायात सम्बन्धि संसदीय समितिका अध्यक्ष समेत हुन् । उनी आप्रवासीहरुका लागि रोल मोडल रहेको छलफलमा सहभागी मेरिल्याण्ड राज्यमा नेपाली मुलका सांसद ह्यारी भण्डारीले बताए ।

भण्डारी अमेरिकी मुलधारको राजनीतिमा यो स्तरमा निर्वाचित भएर इतिहास कायम गर्ने पहिलो नेपाली हुन् । उनलाई अमेरिकी मुलधारको राजनीतिमा नेपाली रोल मोडलका रुपमा समेत चिनिन्छ । गत डिसेम्बरमा सम्पन्न निर्वाचनमा मेरिल्याण्ड राज्य संसदमा निर्वाचित भएर उनले इतिहास रचेका थिए ।

छलफलमा भण्डारीले समुदाय बलियो भएमा अमेरिकी मुलधारको राजनीतिमा सशक्त ढंगले अगाडि बढ्न सहज हुने बताए । अमेरिकामा जस्तो सम्भावना विश्वमा कतै नभएकाले सम्भावना खोज्नका लागि आफै सकृय हुनुपर्ने भण्डारीको भनाई थियो । छलफलमा देवाङ शाह, सुरेश कुमार गुप्ता, नेपाल कल्चर एण्ड एजुकेशन सेन्टरका अध्यक्ष खिलेन्द्र न्यौपाने, नासाका बैज्ञानिक डाक्टर महेन्द्र कार्की, डिसी मेट्रोका सिनियर इन्जिनियर कृष्ण निरौला, सुमित्रा अर्याल, बन्दना कोइराला, पूर्व कुटनीतिज्ञ बामदेव अर्याल, चेतनाथ भण्डारी लगायतको सहभागिता रहेको थियो ।

छलफल कार्यक्रम मेरिल्याण्ड निवासी व्यवसायी लोक तिवारीको आयोजनामा गरिएको हो । छलफलमा सहभागी हुँदै तिवारीले निर्वाचित व्यक्तित्वलाई नेपाली समुदायका तर्फबाट पारस्पारिक सहयोग गर्दै आफ्ना समस्या प्रस्ट रुपमा राख्न सकेमा मात्रै समस्या समाधानका लागि मार्गप्रसस्त हुने बताए ।

सामाजिक गतिविधि तथा एनआरएन आन्दोलनमा सकृय तिवारीको आयोजनामा यस अगाडि पनि अमेरिकी मुलधारको राजनीतिमा नेपाली समुदायलाई समाहित गर्ने सन्दर्भमा अमेरिकी राजनीतिज्ञहरुसँग छलफल र चन्दा संकलन कार्यक्रम गरिदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com