अमेरिका आउँदै गरेका कागजपत्रविहिन बाबुछोरीलाई खोलाले यसरी बगायो (ग्राफिक सामाग्री)


प्रकाशित मिति : असार ११, २०७६ बुधबार

चेतावनी : यो समाचारमा रहेको ग्राफिक सामाग्री र तस्वीरले तपाईलाई विचलित बनाउन सक्छ ।

अमेरिका र मेक्सीकोको सीमा क्षेत्रमा रहेको रियो ग्राण्डे नदीमा डूबेर मरेका आप्रवासी बाबु र उनकी २३ महिनाकी छोरीको दर्दनाक तस्वीरले अमेरिकाको अध्यागमन बहसमा आक्रोश थपेको छ । जुलिया ले डकले खिचेको उक्त दर्दनाक तस्वीर ओस्कार अल्बर्टो मार्टिनेज रामेरेज र उनकी छोरी भालेरियाको हो, उनीहरुको शव नदीको किनारामा घोप्टो अवस्थामा भेटिएको थियो ।

मंगलबार सबै प्रेसले प्रयोग गर्नसक्ने गरी एपीले सार्वजनिक गरेको उक्त तस्वीर एकघण्टामा सयौंले ट्वीट गरेका थिए । गरिबी र हिंशाबाट भागेका परिवारलाई सहायताका लागि प्रयाप्त पहल नभएको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरिएको छ ।

मृत शरिर सोमबार नदीको किनारामा भेटिएको थियो । तस्वीरमा बाबुको कालो टिसर्टले छोरीलाई बेरेको देखिन्छ । एल साल्भाडोरबाट आएका उनीहरुले अमेरिकी सिमाक्षेत्रमा आफूहरुलाई अमेरिकी अधिकारीहरु समक्ष पेश गर्न र एसाइलम दावी गर्न नसकेपछि खोला तरेर अमेरिकाभित्र छिर्न प्रयास गरेका थिए ।

सुरुमा मार्टिनेजले छोरीलाई बोकेर नदी तारे । त्यसपछि छोरीलाई नदीको किनारामा राखेर उनी श्रीमतिलाई तार्नका लागि फर्के । तर नदीको अर्को किनार पुग्दै लाग्दा डरले छोरी फेरि नदीमा हाम फालिन् । छोरी बचाउनका लागि मार्टिनेज पनि नदिमा हेलिए । र, हेर्दाहेर्दै नदीको भेलमा वेपत्ता भए ।

बाबुछोरी नै बगेपछि श्रीमतिले आत्तिएर गुहार मागिन् । त्यसपछि उद्दारका लागि अरु मान्छेहरु त्यहाँ पुगेका थिए । सोमवार बिहानमात्रै उद्दारकर्ताले दुई शव फेला पारे । उनीहरु गत अप्रिलमा अमेरिका आउनका लागि मेक्सिकोको सिमाक्षेत्रमा आएका थिए । तर उनीहरुको अमेरिका आउने सपनालाई नदीले बगाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com