अमेरिकाको सान फ्रान्सिस्कोमा इलेक्ट्रोनिक चुरोटमा प्रतिबन्ध


प्रकाशित मिति : असार ११, २०७६ बुधबार

अमेरिकामा इलेक्ट्रोनिक चुरोटमा प्रतिबन्ध लगाउने सान फ्रान्सिस्को पहिलो शहर बनेको छ। अधिकारीहरूले मङ्गलवार पसल र अनलाइनबाट विक्री गर्न प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका छन्। .

अमेरिकाको सबैभन्दा लोकप्रिय इ-चुरोट ब्रान्ड जूल ल्याब्सको उत्पादन क्यालिफोर्नियामै हुन्छ। कम्पनीले प्रतिबन्धमाथि प्रतिक्रिया दिँदै यो निर्णयले मानिसहरूलाई परम्परागत चुरोटमै फर्किन बाध्य पार्ने र “कालो बजारको बिगबिगी बढाउने” बताएको छ।

सान  फ्रान्सिस्कोका मेयर लण्डन ब्रीडलाई कानुनमा हस्ताक्षर गर्न दश दिनको समय छ तर उनले त्यसमा हस्ताक्षर गर्ने सङ्केत गरिसकेकी छन्। हस्ताक्षर भएको दिनको सात महिनापछि कानुन कार्यान्वयनमा आउनेछ।

भापिङ भनिने इ-चुरोट विरुद्धका अभियानले उत्पादकहरूले सुगन्धित वस्तुहरू उपलब्ध गराएर युवाहरूलाई जानीजानी निशाना बनाएको बताउँछन्। आलोचकहरूले इ-चुरोटको स्वास्थ्यमा पर्ने प्रभावबारे वैज्ञानिक अनुसन्धान गरिनुपर्ने माग गर्दै आएका छन्। भापिङले युवाहरूलाई अन्तत: परम्परागत चुरोटमा जान प्रोत्साहन गर्ने पनि आलोचकको धारणा रहँदै आएको छ।

यो वर्षको सुरुतिर अमेरिकी खाद्य तथा औषधि नियामक फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले एउटा प्रस्तावित दिशानिर्देश जारी गर्दै कम्पनीहरूलाई सन् २०२१ सम्ममा इ- चुरोट उत्पादनहरूको मूल्याङ्कन गराउने समयावधि दिएको थियो। पहिलो समयसीमा सन् २०१८ को अगष्ट महिनाका लागि निश्चित गरिएको थियो। तर पछि तयारीका लागि थप समय चाहिएको एफडीएले बताएको थियो।

अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार निकोटिन प्रयोग गर्ने अमेरिकी किशोरहरूको सङ्ख्या गत वर्ष ३६ % ले बढेको थियो र त्यसो हुनुमा उसले इ-चुरोट प्रयोगकर्ता बढ्नुलाई कारक मानेको थियो। सङ्घीय कानून अनुसार सुर्तीजन्य उत्पादन किन्ने न्यूनतम उमेर १८ वर्ष हो। क्यालिफोर्निया र केही अन्य राज्यहरूमा त्यो उमेर २१ वर्ष रहेको छ।

जूलका प्रवक्ता टेड क्वङले भने, “यस्तो पूर्ण प्रतिबन्धले इ-चुरोटतिर लागेका वयस्क अम्मलीहरूलाई खतरनाक चुरोटमै फर्किन बाध्य पार्नेछ। त्यसले गर्दा कालो बजार फस्टाउने छ।”

“हामीले हाम्रा उत्पादनहरू उमेर नपुगेका व्यक्तिका हातमा नपुगुन् भनेर कडा कदम चालेका छौँ।” उनले भने, “परम्परागत सूर्तीजन्य उत्पादनलाई यो कानुनले छोएको छैन जबकि त्यसले क्यालिफोर्नियामा मात्रै बर्सेनि ४० हजार मानिसको ज्यान लिने गरेको छ।”

जूल कम्पनीमा मार्लबोरो चुरोट बनाउने कम्पनी एलट्रिया ग्रुपको ३५ प्रतिशत स्वामित्त्व छ। उसले सामाजिक सञ्जालहरू इन्ष्टाग्राम र फेसबुकका अकाउन्टहरू बन्द गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com