इथियोपियामा असफल सैनिक सत्ता विद्रोह, प्रधान सेनापतिको गोली हानी हत्या, देशैभर इन्टरनेट बन्द


प्रकाशित मिति : असार ८, २०७६ आईतबार

इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताउनुभएको छ ।

टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले बिफल बनाएको जानकारी दिनुभयो ।

सैनिक पोशाकमा टेलिभिजनसामु देखिनु भएका प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिनुभयो । उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च अधिकारीहरुको हत्या भएको छ ।

अम्हाराका सुरक्षा प्रमुखको नेतृत्वमा सैन्य विद्रोह भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

सैनिक विद्रोह भएका कारण इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको छ ।

संयुक्तराज्य अमेरिकाको दूतावासले राजधानी आदिस अबाबाका विभिन्न भागमा गोली चलेको जनाएको छ ।

प्रधानमन्त्रीको कार्यालयले पनि इथियोपियाको दोस्रो ठूलो शहर अम्हारामा सैनिक विद्रोह भएको घोषणा गरेको थियो । मुलुकका नौ वटा स्वायत्त क्षेत्रमध्ये अम्हारा दोस्रो ठूलो रहनुका साथै यसको सीमा सुडानसँग जोडिएको छ ।

आक्रमणमा जिम्मेवार पक्षका बारेमा थाहा भइनसकेको पनि प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । इथियोपियालाई स्थायित्व दिने र सुधारतर्फ अग्रसर गराउने प्रधानमन्त्री अहमदको योजनामा पछिल्लो घटनाले ठूलो चोट पु¥याएको छ ।

प्रधानमन्त्री कार्यालयको वक्तव्यमा अम्हारामा भएको सैनिक विद्रो असंवैधानिक रहेको र निकै प्रयत्नबाट हासिल गरिएको शान्तिलाई ध्वस्त पार्न खोजिएको उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com