किन खसाल्यो इरानले अमेरिकी ड्रोन ? के युद्धको खतरा छ ?


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएपछि तनाव उत्पन्न भएको छ । दुईदेशबीच युद्धको खतरा रहेको नरहेको बारे चर्चा परिचर्चा समेत सुरु भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूलाई सल्लाहकारहरुले युद्धका लागि नउक्साएको बताएका छन् ।

बिहीवार सबेरै उक्त जासुसी ड्रोन इरानी आकाशभित्र पाइएकोले त्यसलाई खसालिएको इरानको इस्लामिक रिभोलुसन गार्डस् कोरले जनाएको छ । आइआरजिसीका कमान्डर मेजर जनरल हुसैन सलामीले उक्त घटनाले अमेरिकालाई स्पष्ट सन्देश दिएको बताएका छन् ।

अमेरिका र इरानबीच तनाव चुलिरहँदा यो घटना भएको हो। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले आफ्नो आकाशमा बिना अनुमति उडान हुन नदिने बताएका छन्।

 

इरानको आकाश इरानको रेड लाइन भएको र इरानले त्यसको उल्लङ्घन गर्ने जुनसुकै देशलाई जवाफ दिनेगरेको अली सम्खानीले बताएका छन् ।

सोमवार मात्रै अमेरिकी रक्षा मन्त्रालयले इरानी सुरक्षाबलले ुउत्तेजक व्यवहारु देखाएको भन्दै थप एक हजार अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको थियो।

उक्त नयाँ तैनाथी गत महिना नै १५ सय सेना खटाउने राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणामा थपिएको हो।

 

यसैबीच अमेरिकी नौसेनाले केही नयाँ तस्बिरहरू सार्वजनिक गर्दै गल्फ अफ ओमानमा गत साता पेट्रोलियम पद्धार्थ बोकेका दुई पानीजहाजमा भएका हमलामा इरान जोडिएको देखिएको बताएको छ ।

अमेरिकाले इरानलाई गल्फ अफ ओमानमा दुईवटा पेट्रोलियम तेल ट्याङ्करमाथि हमला गरेको आरोप लगाएको छ।

अमेरिकी नौसेनाले केही नयाँ तस्बिरहरू सार्वजनिक गर्दै गत साता पेट्रोलियम पद्धार्थ बोकेका दुई पानीजहाजमा भएका हमलामा इरान जोडिएको देखिएको बताएको छ।

इरानले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ।

तेहरानले सन् २०१५ को परमाणु सम्झौताका अनुमति दिएको तीन सय किलोग्रामभन्दा बढि लो इनरिच्ड युरेनियम दुई साताभित्र भण्डारण गर्ने बताएपछि तनाव चुलिएको थियो ।

इरानको परमाणु महत्त्वाकांक्षालाई सीमित पारिएको सन् २०१५ को उक्त सम्झौताबाट अमेरिका एक वर्षअघि पछि हटेको थियो।

यसअघि रुस र चीनले दुवै पक्षलाई विवेक र संयमता प्रयोग गर्न आग्रह गरेका थिए।

रुसी सहायक विदेशमन्त्री सर्गेई रियाबकफले अमेरिकाले जानाजान इरानलाई युद्धका लागि उक्साउने काम बन्द गर्नुपर्ने बताएका थिए।

चिनियाँ विदेश मन्त्री वाङ् यीको चेतावनी चाहीँ इरानमाथि थोपरिएको चर्को दबाबले पूरै मध्यपूर्वमा सम्हाल्न नसकिने खतरा उत्पन्न हुनसक्ने भन्ने थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com