कोरियामा डढेलोबाट ४०० घर र ९०० पशुगोठ डढेर क्षतिग्रस्त


प्रकाशित मिति : चैत्र २४, २०७५ आईतबार

दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४०० भन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको यस डढेलोबाट उत्तरपूर्वी क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएका थिए । कोरियाली इतिहासमै सबैभन्दा ठूलो मानिएको यो डढेलो सियोलबाट करिब १६० किलोमिटर उत्तरपूर्वको सानो शहर गोसिङ काउन्टीमा गत बिहीबार राति शुरु भएको थियो ।

हावाहुरी र सुक्खाका कारण तिब्र गतिमा विस्तार भएको आगो नजिकका अरु नगर इलाकामा फैलिएको थियो । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आपतकालीन स्थितिको घोषणा गर्दै दशौं हजार खोज तथा उद्धारकर्मीलाई परिचालन गर्ने तथा १० वटाभन्दा बढी हेलिकप्टर परिचालन गर्ने आदेश दिनुभएको थियो । हाल आगो नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट एक व्यक्तिको मृत्युसमेत भएको थियो । सरकारी विपद् निकायका अनुसार आगलागीबाट अरु व्यक्ति हताहत भएको खबर प्राप्त भएको छैन तर धनसम्पत्तिको ठूलो क्षति भएको छ । अधिकारीहरुले ७२२ जना विस्थापित व्यक्तिलाई २१ वटा आपतकालीन शिविरमा राखिएको जनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com