३० हजार पीआर कटौती गर्ने अष्ट्रेलियन सरकारको घोषणा


प्रकाशित मिति : चैत्र ६, २०७५ बुधबार

अष्ट्रेलियन सरकारले ३० हजार पीआर कटौतीको घोषणा गरेको छ ।

बुधबार आफ्नो नयाँ जनसंख्या नीति सार्वजनिक गर्दै अष्ट्रेलियन सरकारले ३० हजार पीआर कटौतीको घोषणा गरेको हो । १ लाख ९० हजार प्रतिवर्ष पीआर प्रदान गर्दै आएको अष्ट्रेलियाले यो संख्यालाई १ लाख ६० हजारमा सीमित गरेको छ । यद्यपि गत वर्ष १ लाख ६३ हजारले मात्रै यस्तो भिसा पाएका थिए ।

नयाँ नियम अन्तर्गत दक्ष कामदारको २३ हजार भिसाका लागि सिड्नी र मेलबर्न बाहेकका क्षेत्रीय ईलाकाहरुका निम्ति हुनेछ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ठूला शहर बाहेकका क्षेत्रमा गएर पढ्न उत्प्रेरित गर्ने उद्देश्यले प्रतिव्यक्ति १५ हजार डलरसम्मको छात्रवृत्ति दिने र यस्तो छात्रवृत्ति संख्या एक हजार रहने पनि सरकारले स्पष्ट पारेको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले बुधबार सार्वजनिक गरेको नीति अनुसार सन् २०१७ १८ मा १ लाख ११ हजार दक्ष जनशक्तिले भिसा पाएकोमा ८ हजार ५ सय विभिन्न क्षेत्रीय ईलाकामा रहेर दुई वर्ष काम गर्नेगरी नियम तोकिएकाहरु थिए । अब यो समय ३ वर्षको हुनेछ । अन्तर्राष्ट्रिय विद्यार्थी, कामदारहरु ठूला शहरहरुमा मात्रै थुप्रिने र रिजनल क्षेत्रहरुमा कामदारको अभाव हुने अवस्थालाई अन्त्य गर्न र समान आर्थिक प्रगतिको लागि यो नयाँ नियम ल्याइएको सरकारले स्पष्ट गरेको छ ।

रिजनल क्षेत्रहरुमा पढेका विद्यार्थीहरुले एक वर्ष थप पोष्ट स्टडी भिसा पाउनेछन् । अहिले माष्टर्स गर्ने विद्यार्थीहरुले २ वर्षको पोष्ट स्टडी भिसा पाउने गरेका थिए । जसमा उनीहरुले काम गर्न पाउने र अष्ट्रेलियन कामको अनुभव हासिल गर्ने गर्दथे । अब यो तीन वर्षको हुने भएको छ ।

चुनावको पूर्वसन्ध्यामा ल्याइएको यो परिवर्तनलाई विपक्षी लेबर पार्टीले यसलाई धुँवा र ऐना भनेर टिप्पणी गरेको छ । विपक्षी नेता बिल सोर्टनले छोटो समयका लागि दिइएका भिसाहरुका कारण जनसंख्याको चाप बढेको बताएका छन् । अष्ट्रेलियाले भिजिट भिसामा आएका मानिसहरुलाई पनि यहाँका कलेज र युनिभर्सिटीहरुमा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com