नेपालबारे ३५ पेजको अमेरिकी रिपोर्ट, निर्मला पन्त काण्डबारे प्राथमिकता


प्रकाशित मिति : फाल्गुन २९, २०७५ बुधबार

अमेरिकी विदेशमन्त्रालयले आज नेपालबारे ३५ पृष्ठ लामो मानवअधिकार सम्बन्धि रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले विश्वब्यापी मानवअधिकारबारेको उक्त रिपोर्ट सार्वजनिक गरेका हुन् । जसमा नेपालबारे ३५ पृष्ठ लामो विवरण प्रस्तुत गरिएको छ ।

रिपोर्टमा नेपालमा भएका गैरन्यायिक हत्या, यातना, अमानवीय कार्य, आपराधिक मानहानी, भष्ट्राचार, मानव तस्करी, बालविवाह, बलात्कार, बालश्रम लगायतका विषयहरु समेटिएको छ । सरकारले विभिन्न विषयमा जाँचबुझ गरेपनि दोषी अधिकारीहरुलाई जवाफदेही नठानेको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा गत अगस्त ५ मा भक्तपुरमा बालक अपहरणको आरोपमा प्रहरी इन्काउन्टरमा मारिएको घटनालाई सुरुमै उल्लेख गरिएको छ । त्यस्तै निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएको समुहमाथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको र २४ जना घाइते भएको विषयलाई पनि रिपोर्टमा प्राथमिकताकासाथ उल्लेख गरिएको छ ।

गत सेप्टेम्बर १ मा स्वतन्त्र मधेस आन्दोलनका राम मनोहर यादवको प्रहरी हिराशतमा उपचारका क्रममा मृत्यु भएको घटना र मार्च २०१७ मा सशस्त्र प्रहरीको गोली लागेर सप्तरीमा ५ जनाको मृत्यु भएको सन्दर्भमा अहिलेसम्म दोषीमाथि कुनै अभियोग दर्ज नगरिएको पनि रिपोर्टमा उल्लेख गरिएको छ । त्यस्तै उज्जन कुमार श्रेष्ठको हत्यामा दोषी तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेललाई गत मे महिनामा राष्ट्रपतिले आममाफी दिएको सन्दर्भ पनि रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा गैर न्यायायिक हत्या, बेपत्ता, यातनाका फेहरिस्तहरु प्रस्तुत गर्नुका साथै जेलहरुको अवस्थाबारे पनि उल्लेख गरिएको छ । गत जुलाई २६ मा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको सन्दर्भलाई रिपोर्टको महिलाको अवस्था खण्डमा पनि प्राथमिकताका साथ उल्लेख गरिएको छ ।

जातीय विभेद तराई क्षेत्र र ग्रामिण क्षेत्रमा ब्यापक रहेको रिपोर्टमा उल्लेख गरिएको छ । बोक्सी लगायतका नेपालका कुप्रथाहरुबारे पनि रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिकी सरकारले सार्वजनिक गरेको यो रिपोर्ट मानवअधिकारको बारेको अवस्थाका सन्दर्भमा आधिकारिक रिपोर्ट हो । एसाइलम लगायतका विषयहरुमा निर्णय गर्दा अमेरिकी सरकारका विभिन्न एजेन्सीहरुले समेत यो रिपोर्टलाई श्रोतको रुपमा लिने गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com