६ महिनामा मृत्यु हुने भनिएका बिरामीको अन्तिम इच्छा पूरा गर्न ट्रम्पले गरे फोन


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

अमेरिकामा चिकित्सकले केही महिनामा नै मर्ने घोषणा गरेका एकजना व्यक्तिको अन्तिम इच्छा पूरा गराउन राष्ट्रपति डोनाल्ड ट्रम्पले फोनकल गरेका छन् । कनेक्टिकटका एकजना बिरामीले ट्रम्पबाट आश्चर्यजनक फोनकल पाएका हुन् ।

अस्पतालमा उपचार सम्भव नभएपछि घरमा लगिएका जे बारेटलाई राष्ट्रपति ट्रम्पले फोन गर्दै भने तपाई पनि मजस्तै हुनुहुन्छ । तपाईले पनि निरन्तर लडिरहनुभयो । म पनि निरन्तर लडिरहेको छु ।

राष्ट्रपति ट्रम्पका छोरा एरिकले पनि ती बिरामीलाई विशेष उपहार पठाउने प्रतिज्ञा गरेका छन् । बिरामी जे बारेटलाई उनकी दिदी स्थानीय डेमोक्रेटिक काउन्सिलवुमनले हेरचाह गरिरहेकी छिन् । उनले आफ्नो भाई अलिक रुढीबादी भएपनि आफू शतप्रतिशत डेमोक्र्याट रहेको बताएकी छिन् ।

ट्रम्पले ४४ बर्षका ती बिरामीलाई फोन गर्दै आफूले उनको तस्वीर पनि हेरेको र तस्वीरमा उनी निकै ह्याण्डसम देखिएको बताएका थिए । बारेटले सन् २००८ मा स्वतन्त्र मतदाताका रुपमा ओबामालाई मतदान गरेपनि सन् २०१२ मा ओबामालाई समर्थन नगरेको जनाएका छन् । पछि उनले ट्रम्पलाई समर्थन गरेका थिए ।

डेमोक्र्याटहरुले ट्रम्पको सही वा गलत जस्तोसुकै भनाईको पनि विरोध गर्ने बारेटले बताएका छन् । ट्रम्पले अक्सिजन राम्रो चीज हो भनेमा डेमोक्र्याटहरुले अक्सिजन नराम्रो भन्न पछि नपर्ने उनले बताए । बारेटले सन् २०२० को चुनावमा मतदान गर्न पाउने आशा व्यक्त गरेका छन् । यद्यपी चिकित्सकहरुले उनी ६ महिनामात्र जीवित रहनसक्ने बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com