चुप लगाउनका लागि ट्रम्पले रकम खर्चेको वकिल कोहेनको दावी, चेक बोकेर संसदमा बयान


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

पोर्नस्टार स्टोर्मी डानियललाई चुप  लगाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रकम तिरेको ट्रम्पका पूर्व वकिल तथा मामला मिलाउनमा खटिएका माइकल कोहेनले दावी गरेका छन् । उनले यसको पुष्टी गर्न आज संसदको बयानमा चेकका प्रतिहरु नै प्रमाणका रुपमा बोकेर गएका थिए । जसमा ट्रम्पले हस्ताक्षर गरेका छन् ।

ट्रम्प राष्ट्रपतिकै रुपमा रहँदा आपराधिक कृयाकलापमा संलग्न भएको आफ्नो दावी पुष्टी गर्न कोहेनले संसदीय बयानका क्रममा चेकका कपीहरु बोकेर गएका हुन् । कोहेनले पेश गरेको चेकमा ट्रम्पले सन् २०१७ को अगस्त १ मा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले सन् २०१७ को जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हालेका थिए । राष्ट्रपतिका रुपमा रहेकै बेला ट्रम्पले कोहेनका नाममा चेक इस्यु गरेका हुन् । ३५ हजार डलरको उक्त चेक कुन प्रयोजनका लागि जारी गरिएको भन्नेबारे चेकमा केही खुलाइएको छैन । क्यापिटल वान बैंकको उक्त चेक ट्रम्पको नीजि खाताबाट जारी गरिएको छ ।

कोहेनले भने ट्रम्पको अफेयर रहेको भनिएको पोर्नस्टार स्टोर्मी डानियललाई चुप लगाउन आफूले ट्रम्पका तर्फबाट रकम तिरेको र ट्रम्पले त्यसैको क्षतिपूर्तिबापत आफूलाई उक्त चेक दिएको दावी गरेका छन् । यो चेक बर्षभरी ट्रम्पले तिरेका ११ इन्स्टलमेन्टमध्येको एउटा भएको कोहेनको दावी छ ।

कोहेनले सन् २०१७ को मार्च १७ मा आफ्नो नाममा जारी अर्को चेकपनि प्रमाणका रुपमा पेश गरेका छन्, जसमा डोनाल्ड ट्रम्पका छोराले हस्ताक्षर गरेका छन् । यो रकमपनि आफूले पोर्नस्टारलाई चुप लगाउनका लापग ट्रम्पका तर्फबाट तिरेको रकमको इन्स्टलमेन्ट रहेको कोहेनको दावी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com