ट्रम्पको संकटकालबिरुद्धको प्रस्ताव सिनेटबाट पारित होला ?


प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकालबिरुद्ध अमेरिकी प्रतिनिधिसभा हाउस अफ रिप्रिजेन्टेटिभबाट प्रस्ताव पारित भइसकेकाले अब प्रस्तावलाई सिनेटमा लगिने भएको छ । सिनेटमा १८ दिनभित्र उक्त प्रस्तावबारे मतदान हुनेछ ।

अहिलेको सिनेटमा रहेका एकसय सदस्य संख्यामध्ये रिपब्लिकनहरु ५३ जना र २ स्वतन्त्र सहित डेमोक्र्याट्सहरु ४७ जना रहेका छन् । केही रिपब्लिकन सांसदहरुले संकटकालबिरुद्धको प्रस्तावको पक्षमा मतदान गर्ने घोषणा गरिसकेका छन् । कोलोराडोका कोरी गार्डनर, एरिजोनाका मार्था म्याकसेली र आयोवाका जोनी अर्नस्टले संकटकालबिरुद्धको प्रस्तावमा मतदान गर्ने सम्भावना छ ।

यसरी प्रस्तावको पक्षमा ५० मत र विपक्षमा ५० मतका रुपमा अहिलेको सिनेट विभाजित देखिन्छ । एकजनामात्र रिपब्लिकन सिनेटरले पक्षमा मतदान गरे भने संकटकालबिरुद्धको प्रस्ताव हस्ताक्षरका लागि राष्ट्रपतिसमक्ष पेश गरिनेछ । राष्ट्रपतिले भिटो पावर मार्फत उक्त प्रस्ताव अस्वीकार गर्ने लगभग निश्चित भएपनि अमेरिकी राजनीतिमा यो भयानक लज्जा हुनेछ ।

हाउसमा भने प्रस्तावको पक्षमा २४५ र विपक्षमा १८२ मत परेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली नेतासँग वार्ताका लागि भियतनाम भ्रमणमा रहेका बेला अमेरिकी संसदको तल्लो सदनबाट संकटकाल खारेज गर्ने प्रस्ताव पारित भएको हो । हाउसमा प्रस्तावको पक्षमा १३ रिपब्लिकन सांसदहरुले पनि मतदान गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको भिटो पावरलाई ओेभरराइड गर्नका लागि संसदबाट दुईतिहाई बहुमतले प्रस्ताव पारित हुन जरुरी छ । त्यसका लागि भने पस्तावको पक्षमा दुईदिहाई मत खस्न सकेको छैन । दुईतिहाईका लागि २९० मतको आवश्यकता छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com