समाजवादी बर्नीलाई अपार समर्थन, हिलारी बिरुद्ध लडेका बर्नीले ट्रम्पलाई पछार्लान् ?


प्रकाशित मिति : फाल्गुन ११, २०७५ शनिबार

आगामी राष्ट्रपतिको चुनावका लागि उम्मेदवारीको घोषणा गरेका बर्नी स्याण्डर्सलाई अपार समर्थन प्राप्त भइरहेको छ । भर्मोन्टका सिनेटर स्याण्डर्स यस अगाडिको राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक प्राइमरीमा हिलारी क्लिन्टनसँग पराजित भएका छन् ।

अत्यन्तै प्रगतिशिल र समाजवादी धारणा राख्ने बर्नी स्याण्डर्सले गत राष्ट्रपतिको चुनावमा प्राइमरीमा हिलारीलाई जितेको भए ट्रम्पलाई समेत पछार्न सक्ने अनुमान गरिएको थियो । यसपटक पनि उम्मेदवारी घोषणा गरेको २४ घण्टामा नै उनले झण्डै ६ मिलियन डलर चन्दा संकलन गरिसकेका छन् ।

सन् २०१६ को चुनावमा उम्मेदवारी घोषणा गरेको २४ घण्टामा बर्नीलाई डेढ मिलियन डलर संकलन भएको थियो । तर यसपटक उनले आफ्नै पुरानो रेकर्डमात्र तोडेनन् अरु सबै डेमोक्रेटिक उम्मेदवारहरुका रेकर्डहरु समेत तोडेका छन् ।

गत मंगलबार बर्नी स्याण्डर्सले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिमा उम्मेदवारीको घोषणा गरेका हुन् । स्वास्थ्य सुविधामा विस्तार, निशुल्क उच्च शिक्षा जस्ता कैयन समाजवादी एजेण्डा अगाडि सारेका बर्नीलाई ठूलो संख्यामा डेमोक्रेटिक मतदाताहरुको समर्थन रहेको छ ।

बर्नीले २४ घण्टामा संकलन गरेको झण्डै ६ मिलियन डलर सबा २ लाख दाताहरुले प्रदान गरेका थिए । सिनेटर कमला ह्यारिसले उम्मेदवारी घोषणा गरेको २४ घण्टामा ३८ हजार दाताहरुबाट डेढ मिलियन डलर संकलन गरेकी थिइन् । एलिजाबेथ वारेनले उम्मेदवारी घोषणाको पहिलो दिन ३ लाख डलर अनलाइनमार्फत संकलन गर्न सफल भएकी थिइन् ।

न्युयोर्कको बु्रकलिनमा जन्मे हुर्केका ७७ बर्षीय बर्नी स्याण्डर्सले यसपटकको चुनावमा अन्य उम्मेदवारहरुलाई पछि पारेर अन्तिम चुनावमा डोनाल्ड ट्रम्पलाई पछार्लान् ? अमेरिकी राजनीतिमा यो अहिलेको सबैभन्दा ठूलो प्रश्न बनेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com