भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने दुई नेपाली युवा भएको पुष्टी, दाहसंस्कारका लागि सहयोग संकलन
प्रकाशित मिति : फाल्गुन ७, २०७५ मंगलबार

गत शनिबार अमेरिकाको भर्जिनियाको फेयर फ्याक्स काउन्टी अन्तर्गत डुलास अन्तर्राष्ट्रिय बिमानस्थलको पूर्वपट्टी राजमार्ग २८ मा भएको दुर्घटनामा दुईजना नेपाली युवाको मृत्यु भएको छ । दुर्घटनामा दुबै जनाको घटनास्थल मै मृत्यु भएको थियो ।
घटनास्थल नक्सामा
सोमबारसम्म पनि मृतकको पहिचान हुन नसकेकोमा मंगलबार उनीहरु नेपाली विद्यार्थीहरु रहेको पुष्टी भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरु २९ बर्षका सुबीद सिंह र २८ बर्षका अन्जिल थापा रहेका छन् । सुबीदले गत जनवरीमा मात्र आफ्नो २९ औं जन्मदिन मनाएका थिए । डान्सरबाबुका रुपमा चिनिने अन्जिल नाचगानमा रुची राख्ने जनाइएको छ ।
दुबै जना नर्दन भर्जिनिया कम्युनिटी कलेजमा अध्ययनरत थिए । सुबीद सिल्भर डाइनरमा मेनेजरका रुपमा काम गर्थे भने अञ्जिल आईनोभा अस्पतालमा कार्यरत रहेको जनाइएको छ ।
घटनास्थलमा भेटिएको मृतकको सुनको सिक्री ।
शनिबार बिहान साढे ४ बजे उक्त दुर्घटना भएको जनाइएको छ । उनीहरु सवार होन्डा सीआरभी गाडी बिजुलीको पोलमा ठोकिएको जनाइएको छ । घटना स्थलमै गाडी जलेको कारण सुरुमा मृतकको सनाखत हुनमा समस्या भएको थियो ।
उनीहरुको दाहसंस्करका लागि गोफण्डमीमा रकम संकलन अभियान चलाइएको छ । २० हजार डलरको लक्ष्यसहित संचालित उक्त अभियानमा यो समाचार तयार पार्दासम्म ९ हजारडलर भन्दा धेरै संकलन भइसकेको छ ।