अमेरिकाबाट बिरामी हजुरआमा र आमा भेट्न गएकी २१ बर्षकी बन्दना दुर्घटनामा


प्रकाशित मिति : माघ ४, २०७९ बुधबार

आइतबार पोखरामा भएको बिमान दुर्घटनामा ज्यान गुमाउनेहरुका कैयन कथाहरु अझै भन्न बाँकी छन् । अमेरिकाको टेक्सासबाट बिरामी हजुरआमा भेट्न नेपाल गएकी २१ बर्षकी बन्दना सुनारले पनि आइतबारको दुर्घटनामा ज्यान गुमाइन् ।

झण्डै एकसाता अगाडि अमेरिकाबाट भाईलाई लिएर नेपाल गएकी थिइन् बन्दना । काठमाडौंमा अस्पतालमा उपचाररत हजुरआमालाई भेटेपछि उनले पोखरा जाने योजना बनाइन् ।

साथी र आफन्तलाई सरप्राइज दिन उनी आइतबार बिहान कसैलाई नभनी पोखरा जाँदै थिइन्।

‘बन्दना नेपाल आएको छ भनेर हामीले त बल्ल आज थाहा पाएको हो, ऊ जहिले पनि सरप्राइज दिएर आउँछ,’ बन्दनाकी नातेदार जेमी सुनारले आँशु पुछ्दै भनिन्, ‘यो कस्तो सरप्राइज हो!’

बन्दना झण्डै ६ बर्षदेखि भाई र दिदीसँगै अमेरिकाको टेक्सासमा बस्दै आएकी थिइन् । बुबासँगै अमेरिका गएपनि केहीबर्ष अगाडि क्यान्सरका कारण बुबाको अमेरिकामा नै निधन भएको थियो । बन्दनाका फुपु दिदीहरु पनि अमेरिकामा नै भएकाले फुपु दिदीहरुको नजिक रहेर उनले अमेरिकामा नर्सिङ पढ्दै आएकी थिइन् ।

गीतसंगीतमा रुची राख्ने बन्दनाको आफ्नो युट्युब च्यानल पनि छ । उनले युट्युब च्यानलमा कभर भिडियोहरु समेत बनाउदै आएकी थिइन् । जसमा उनले झण्डै आधा दर्जन भिडियोहरु समेत राखेकी छिन् । तर पढाईमा व्यस्त भएको भन्दै उनले पछिल्लो समयमा भिडियोहरु राखेकी थिइनन् ।

उनका कैयन भिडियो र पोष्टहरु आमाबुबाप्रति समर्पित थिए । उनले मदर्स डेको अवशरमा गीत समेत गाएर पोष्ट गरेकी थिइन् । उनले केही भिडियोहरु आफ्नो फेसबुक पेजमा पनि पोष्ट गरेकी छिन् । 

उनले पछिल्लोपटक फेसबुक कभर तस्वीरमा लेखेकी थिइन् – ‘तिम्रो अनुहारमा मुस्कान ल्याउन म जे पनि गर्न सक्छु । आमा म तिमीलाई माया गर्छु ।’

बन्दनाको दुर्घटनामा निधन भएपछि टेक्सासमा बस्दै आएकी उनकी दिदी पनि मंगलबार नेपाल गएकी छिन् ।

‘आइतबारको दुर्घटनामा कैयन नेपालीहरुको मृत्यु भएको शोक मनाइरहँदा बन्दना पनि दुर्घटनामा परेको थाहा पाइएन । सरप्राइज दिनका लागि नेपाल गएको फोटोपनि उनले हालेकी थिइनन् । हामीलाई त नेपाल गएको पनि थाहा थिएन । तर अचानक पोखरामा दुर्घटनामा परेको खबरले स्तब्ध भयौं,’ न्युजर्सी निवासी बन्दनाकी एक नातेदार रश्मी तिवारीले भनिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com