पुलवामा आक्रमणपछि टी–सिरिजले हटायो राहत र आतिफका गीतहरु


प्रकाशित मिति : फाल्गुन ६, २०७५ सोमबार

भारतको कश्मीरमा भारतीय सीआरपीएफमाथि भएको आतंककारी हमलापछि भारतमा टी–सिरिज म्यूजिक कम्पनीले पाकिस्तानी गायक राहत फतेह अली खान र आतिफ अस्लमका गीतहरु हटाएको छ ।

महाराष्ट्र नवनिर्माण सेनाले पुलवामा आतंककारी हमलापछि बलिउड फिल्म उद्योगलाई पाकिस्तानी कलाकारहरुमाथि प्रतिबन्ध गर्न भनेको थियो ।

टी–सिरिज कम्पनीले आफ्नो यूट्यूब च्यानलका साथै अन्य सामाजिक सञ्जाल पोर्टलबाट पनि पाकिस्तानी गायकका म्यूजिक भिडियोहरु हटाएको छ । टी–सिरिज कम्पनीले राहत फतेह अली खान र आतिफ अस्लमसँग हालैमात्रै नयाँ गितको लागि सम्झौता गरेको थियो ।

तर टी–सिरिज कम्पनीले शहीद सैनिक जवानका परिवारको समर्थनमा पाकिस्तानी गायकका भिडियोहरु हटाएको छ । खबरहरुका अनुसार टी–सिरिज कम्पनी अहिले भारतीय नागरिहरुको भावनालाई ध्यानमा राख्दै पाकिस्तानी कलाकारहरुसँग सम्बन्धित कुनै पनि विषयवस्तुलाई बढावा दिन नखोजेको बताइएको छ ।

यस्तै महाराष्ट्र नवनिर्माण सेनाले भारतीय म्यूजिक कम्पनीहरु टी–सिरिज, सोनी म्यूजिक, भेनस, टिप्स म्यूजिकलगायतलाई पाकिस्तानी गायकहरुका साथ काम नगर्न भनेको थियो ।

पाकिस्तानी गायकहरुका साथ काम गरिरहेको टी–सिरिज कम्पनीलाई कम्पनी बन्द गरिदिने चेतावनी दिएको थियो । साथै महाराष्ट्र नवनिर्माण सेनाले आफूहरुले दिएको धम्कीका कारण टी–सिरिज कम्पनीले पाकिस्तानी गायकहरुका भिडियोहरु हटाएको बताएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com