राष्ट्रिय संकटकालबिरुद्ध अदालतमा मुद्दा दायर हुनसक्ने


प्रकाशित मिति : फाल्गुन ३, २०७५ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट घोषित राष्ट्रिय संकटकालबिरुद्ध अदालतमा मुद्दा दायर हुनसक्ने अपेक्षा गरिएको छ । राष्ट्रपति ट्रम्प आफैले संकटकालबिरुद्ध मुद्दा दायर हुनसक्ने भविश्यवाणी गरेका छन् ।

विगतमा जस्तो विभिन्न अदालतमा हुने घम्साघम्सीपछि सर्बोच्च अदालतमा पुगेपछि आफूहरुले जित्ने ट्रम्पले बताएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकामा संकटकाल लगाउने घोषणामा हस्ताक्षर गरिसकेका छन् भने ओभल अफिसमा पुग्नासाथ अन्तिम कागजातमा हस्ताक्षर गर्नेछन् ।

सिमानामा पर्खाल निर्माण गर्नका लागि राष्ट्रपति ट्रम्पले मुलुकमा संकटकालको घोषणा गरेका हुन् ।
अमेरिकी संसदले पर्खाल निर्माणका लागि बजेट विनियोजन गर्न अस्वीकार गरेपछि संकटकाल लगाएर ट्रम्पले अन्य क्षेत्रका लागि विनियोजित बजेट पर्खाल निर्माणमा लगाउने भएका हुन् ।

विशेष सम्बोधनका क्रममा ट्रम्पले अमेरिकालाई लागुऔषध र अपराधीहरुबाट जोगाउन तथा मेक्सिकोको सिमाक्षेत्रबाट कागजपत्रविहिनहरु आउने क्रम रोक्न संकटकालको घोषणा गरेको जनाएका छन् । संकटकालको घोषणापछि ट्रम्पले अन्य क्षेत्रका लागि विनियोजन गरिएको ३ दशमलव ६ बिलियन बजेट पर्खाल निर्माणमा लगाउन सक्नेछन् । त्योबाहेक लागु औषधबिरुद्धको साढे २ बिलियन र ट्रेजरी डिपार्टमेन्टबाट ६ सय मिलियन डलरपनि ट्रम्पले पर्खाल निर्माणमा लगाउनेछन् ।

बिहिबार अमेरिकी संसदबाट १ दशमवल ३७५ बिलियन डलर सिमानामा तारबार लगाउनका लागि छुट्याएको छ । यसरी पर्खाल निर्माणका लागि झण्डै ८ बिलियन खर्च गर्नेगरी ट्रम्पले योजना बनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com