सिनेटबाट सरकारी खर्च विधयेक पारित, संकटकालको घोषणा गर्दै ट्रम्प


प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार

अमेरिकी सरकार शटडाउन हुन नदिनेगरी सिनेटबाट सरकारी खर्च विधयेक पारित भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधयेकमा हस्ताक्षरसँगै मुलुकमा राष्ट्रिय संकटकालको घोषणा समेत गर्ने तयारी गरेका छन् ।

सिनेटमा बहुमतप्राप्त दलका नेता मिच म्याक्वेनेलले राष्ट्रपति ट्रम्पबाट सिमानामा पर्खाल निर्माणका लागि संकटकाल लगाउने तयारी भइरहेको खुलासा गरेका हुन् । ट्रम्पले बिलमा हस्ताक्षरसँगै जारी गर्ने कार्यकारी आदेशमा संकटकालको घोषणा गर्न लागेका हुन् ।

डेमोक्रेटिक नेताहरुले भने ट्रम्पले लगाउन लागेको सम्भावित संकटकाललाई कानुनविहिन गतिविधिको संज्ञा दिएका छन् । सिनेटमा अल्पमत पक्षमा डेमोक्र्याट्स नेता चक शुमर र प्रतिनिधिसभा सभामुख न्यान्सी पेलोसीले वक्तब्य जारी गर्दै संकटकालको घोषणा गरिएमा त्यो शक्तिको दुरुपयोग हुने बताएका छन् ।

सिनेटमा खर्च विधयेकका पक्षमा ८३ मत खसेको छ भने विपक्षमा १६ मत खसेको छ । प्रतिनिधिसभामा पूर्वीय समय अनुशार ६ बजे मतदान हुने जनाइएको छ । विधयेकमा सिमानामा पर्खाल निर्माणका लागि ५ दशमलव ७ बिलियन डलर नछुट्याइएकाले राष्ट्रपति ट्रम्प बेखुशी रहेका छन् ।

ट्रम्पले संकटकालको घोषणा गरेपछि पर्खाल निर्माणका लागि रक्षाबजेट लगाउन सक्नेछन् । ट्रम्पले आफ्नो चुनावी एजेण्डामा पर्खाल निर्माणको विषयलाई प्रमुखताका साथ उठाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com