अस्ट्रेलियामा सयौं नेपाली विद्यार्थी अन्यौंलमा, नेपाली एजेन्ट नैतिक जिम्मेवार


प्रकाशित मिति : फाल्गुन २, २०७५ बिहीबार

नेपालबाट सुन्दर भविष्यका खोजीमा उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका हजारौं विद्यार्थी गलत सल्लाह र सुझावका कारण अस्ट्रेलिया आएर शैक्षिक अन्यौलमा परेका छन्।

पछिल्लो चरणमा ह्वात्तै बढेको नेपाली विद्यार्थीहरू डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा कलेज र एजेन्टको गलत रवैयाका कारण अन्यौलमा परेको स्पष्ट भएको छ।

बैदेशिक अध्ययनको नाममा होडबाजी गर्दै अध्ययन गर्ने निकाय र विषयमा स्पष्ट नहुँदा एआइबीटी कलेजमा अध्ययन गर्ने एक हजार नेपाली विद्यार्थी यतिखेर गलत रवैयाको शिकार भएका छन्।

चौबिस महिने डिप्लोमा अफ नर्सिङ कोर्स पढ्न आएका नेपाली विद्यार्थी डेढ वर्ष पढेपछि कलेजले नर्सिङ सम्बन्धन नपाउने भएपछि ‘खाउँ भने दिनभरको शिकार नखाउँ भने कान्छा बाउको अनुहार’ भनेझै अन्यौलमा परेका छन्।

यतिखेर चालिस हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्यनरत छन्।

नेपालबाट बाबुआमाले बिसौ लाख खर्चेर छोरा छोरीलाई उज्वल भबिष्यको खोजी गर्दै नर्सिङ पढ्न पठाउने, तर यहाँ आएर विद्यार्थी गलत रबैयाको शिकार भएर पढाइ त्याग्नुपर्ने बाध्यतामा परेपछि कतिपय विद्यार्थी डिप्रेशनको सिकारसमेत भएका छन्।

अस्ट्रेलियाको शैक्षिक पद्धतिमा अस्ट्रेलियन स्कील क्वालीटी अथोरोटी (अस्क्वा) ले शैक्षिक संस्थाको दर्ता, सञ्चालन र कोर्सको छिनोफानो गर्छ।

यस संस्थाले दर्ता दिएपछि र कोर्सको अनुमोदन पछि विद्यार्थी भर्ना लिन प्रारम्भ गरिन्छ। तर, अन्य विषयमा यसको अनुवन्धानले काम गरे पनि नर्सिङ कोर्सका लागि भने अस्ट्रेलियन नर्सिङ एन्ड मिड वाइफरी एक्रिएडिएसन काउन्सिल (एन्म्याक) को स्वीकृती आवश्यक रहन्छ।

त्यसपछि पनि यी नर्सिङ पढाइ गरेका विद्यार्थीलाई हस्पिटलमा इन्टर्नसिपका लागि अस्ट्रेलियन हेल्थ प्राक्टीसनर रेगुलेटर एजेन्सी (अप्रा) को दर्ता नम्बर आवश्यक हुन्छ।

यी माथिका प्रारम्भीक तयारीहरुको कयैन परीक्षणकै क्रममा धमाधम विद्यार्थी लिने र पढाइ सुरू गर्ने अनि कमाइ हाल्ने प्रवृत्तिले विद्यार्थी नराम्रोसँग प्रभावित भएका छन्।

यसमा राम्रो कमिसनको चक्करमा विद्यार्थी तथा अभिभावकलाई नेपालमा जानकारी नदिइ भइहाल्छ र पाइहाल्छ भन्ने प्रवृत्तिले विद्यार्थीको भबिष्य अन्यौलमा परेको अध्यनरत एक बिध्यार्थीले सेतोपाटीलाई बताए।

अस्ट्रेलियन स्कील क्वालिटी अथोरोटीको मान्यता पाएपछि बिभिन्न प्रावधान राखेर सीओइ जारी गर्दै धमाधम विद्यार्थी भर्ना लिने र विषयका बारेमा स्पष्ट ज्ञान नहुँदा नेपाली विद्यार्थी मारमा परेका हुन्।

यतिखेर ब्रिजबेन र सिड्नीमा रहेको एआइबीटी कलेजमा मात्र करिब एक हजारको संख्यामा रहेका नेपाली विद्यार्थी पढेर कोर्सको अन्तिम समयमा पुग्दा एन्म्याकले मान्यता नदिँदा अलपत्र परेका छन्।

एन्म्याकले पछिल्लो पटक भाषागत समस्या देखाउँदै अंग्रेजी भाषा परीक्षा आइएलटीएसमा सात अंक आउने विद्यार्थीलाई मात्र डिप्लोमा अफ नर्सिङ पढन पाउने निर्णय गरेपछि थुप्रै विद्यार्थी थप मर्कामा परेका छन्।

सन् २०१७ को अक्टोबरमा यो नियम जारी गरिए पनि त्यसअघि भर्ना भएका विद्यार्थीको हकमा यो नियम लागू नहुने भनिएको थियो। तर, सबै विद्यार्थीले अंग्रेजी टेष्टमा सात अंक ल्याउनुपर्ने भएपछि धेरै विद्यार्थी मर्कामा पर्नुका साथै नसिंङ कोर्स समेत झन्झटिलो बन्न पुगेको छ।

काउन्सिल फर एन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलिया (सीसा) का केन्द्रीय अध्यक्ष विजय सापकोटाले यो विषय गम्भीर रहेको र हजारौं नेपाली विद्यार्थी प्रभावित हुनु दुखद भएको बताए।

‘नेपाली विद्यार्थीहरू विदेशमा पढ्न आउँदा सम्बन्धित निकाय र पढने विषयमा स्पष्ट नभएका कारण यो समस्या देखिएको हो,’ उनले सेतोपाटीसँग भने, ‘नेपालका एजुकेसनल कन्सलटेन्सी र परामर्शदाताले यर्थाथ बिवरण नदिएका कारण पनि कतिपय समस्या आइपरेको हो।

राम्रा पनि छन् अनि खराब पनि। केही खराबले थुप्रै राम्रालाई पनि बदनाम गरिदिएको उनले बताए।

‘आफ्ना भाइ छोरा सम्झेर समय र पैसा अनि पढाइ बर्बाद नहुने गरी परामर्शदाताहरुले परामर्श दिनुपर्ने देखेको छु। किनभने बिध्यार्थीहरुको आवाज सुन्दा यस्तै आभास हुन्छ,’ उनले सेतोपाटीसँग भने।

केही नराम्रा प्रोभाइडरका कारण पनि सयौं राम्रा कलेज बदनाम हुँदैछन्। यस बिषयमा अस्ट्रेलियाको शैक्षिक निकाय गम्भीर हुनु जरूरि देखिएको छ।

यो एक डेढ बर्षमा दुई सय भन्दा बढी शैक्षिक संस्था बन्द गरिएका छन्। यो शैक्षिक क्षेत्रको लागि शुभ संकेत होइन।

यस विषयमा सरकारको निकायसँग सिसाले गम्भीर रुपमा छलफल अगाडि बढाउने उनले बताए।

‘कतिपय कलेज पढ्दा पढ्दै बन्द हुने भए पनि विद्यार्थीलाई त्यसको क्षतिपूर्ति भर्ने ब्यवस्था रहेको छ,’ सापकोटाले भने।

सिड्नीमा ओपल कन्सलेटेन्सी चलाइरहेका शैक्षिक परामर्शदाता विवेक थापाले यो विषय गम्भीर रहेको बताए।

नेपालका केही कन्सलटेन्सीहरु जिम्मेवार भएर आफ्नो पेशामा इमान्दार नहुँदा यस्ता खाले समस्याहरु आइपरेको थापाको भनाई छ। ‘अस्ट्रेलियाको आधिकारीक निकायमा दर्ता र प्रकृयाका विषयमा स्पष्ट ब्याख्या गरेर मात्र विद्यार्थीलाई सम्वन्धित कलेजमा पठाइएको भए यो समस्या आइपर्ने थिएन होला,’ थापाले सेतोपाटीसँग भने।

एआइबीटी कलेजमा पढ्ने विद्यार्थीले सबैको तर्फवाट भनेर काउन्सिल फर इन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलियालाई सहयोगको लागि अपिल गर्दै हजारौ विद्यार्थीको भबिष्यमाथि खेलवाड गरिएको आरोप समेत लगाएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com