जापान रोजगारी : यसकारण गरिँदैछ कामदार पठाउन ‘गोप्य’ छलफल


प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार

रोजगारीको आकर्षक गन्तव्य मानिएको जापानमा नेपाली कामदार पठाउन छलफललाई तीव्रता दिइएको छ । नेपाली र जापानी पक्षबीच कामदार पठाउनेबारे गम्भीर ढङ्गले गृहकार्य चलिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

यस विषयमा गत माघ ३ गते जापानी पक्षसँग औपचारिक रूपमै छलफलसमेत भएको थियो । सो क्रममा जापानी पक्षले नेपालीलाई जापान लैजाने विषयमा अन्तिम टुङ्गो नलागेसम्म आफ्ना भेटवार्ताका विषय गोप्य राख्न भनेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि यस विषयमा भएका प्रगतिलाई बाहिर ल्याउन चाहिरहेको छैन ।

स्रोतका अनुसार वैदेशिक रोजगारका अन्य गन्तव्यभन्दा उत्कृष्ट मोडलमा कामदार पठाउने सरकारको तयारी छ ।

श्रम मन्त्रालयका एक उच्च अधिकारीका अनुसार जापानले आफ्नो देशमा कामदार भित्र्याउन विभिन्न नौ देशसँग छलफल गरिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोही आधारमा एक मुलुकसँग भएका छलफलको निर्णय अर्को देशले अहिले नै थाहा पाउँदा बार्गेनिङ गर्न सक्ने भएकाले जापानी पक्षले यो विषयमा कुनै कुरा बाहिर नल्याउन मन्त्रालयलाई आग्रह गरेको हो ।

मन्त्रालयका ती अधिकारी पनि उनीहरूको सम्मान स्वरूप आफूले छलफलका विषय सार्वजनिक गर्न नसक्ने बताउँछन् ।

यद्यपि, उनका अनुसार यसबीचमा मन्त्री गोकर्ण विष्टले पनि जापानी राजदूतसँग पटक पटक भेट गरिसकेका छन् ।

छलफलका क्रममा श्रमिक ठगिन नपरोस् र नेपाली कामदारको सुरक्षा तथा सेवासुविधा राम्रो होस भन्ने नेपालको चहना रहेको मनत्री विष्टले प्रष्ट पारेका छन् ।

यदि  जापान र नेपालबीच सहमति भएर नेपाली कामदार जापान गए भने उनीहरू जाने मोडल अहिलेसम्मकै उत्कृष्ट हुने मन्त्रालय श्रोतको दाबी छ ।

विकसित मुलुक जापान मानव अधिकारको हिसाबले निकै सुरक्षित र सामाजिक सुरक्षाको हिसाबले पनि उत्कृष्ट देश हो ।

अन्य ठाउँभन्दा कामदारले गर्ने मिहेनेतको पाटो एउटा भए पनि न्यूनतम तलब सुविधा, मानव अधिकारको अवस्था र अन्य सामाजिक सुरक्षाको अवस्थालगायतका हिसाबले धेरै उन्नत रहेको छ ।

वैदेशिक रोजगारका नाममा भाषामा ठगिने डर

वैदेशिक रोजगारका लागि जापान जान पाइने भनेपछि अहिले धेरैमा जापानीज भाषाको मोह निकै बढेको छ ।

भाषा सिकिराखे जापान रोजगार खुल्ने बित्तिकै  जान पाइने बुझाइ छ । मन्त्रालयका ती अधिकारी वैदेशिक रोजगारमा जापानका विषयमा अन्य विवरण सार्वजनिक गरे कन्सल्टेन्सीले जापानिज भाषालाई कमाइ खाने भाँडो बनाउन सक्ने भन्दै सोप्रति सचेत रहेको उल्लेख गरे ।

उनका अनुसार अहिले कतिपय कन्सल्टेन्सीले यही नाममा भाषा पढाउन थालेको जानकारी आफूहरूले पाएको बताए ।

यता, कोर्स के हुने, कुन–कुन क्षेत्रका लागि कामदार कति लैजाने, भर्ना प्रक्रिया भने टुङ्गो लाग्न बाँकी छ । हाल विद्यार्थी भिसामार्फत धेरै नेपाली जापानमा छन् ।

विद्यार्थी भिसा सहजै पाइने भएकाले सोही भिसालाई नेपालीले जापान प्रवेशको माध्यम बनाउँदै आएका छन् । पछिल्लो समय नेपालीको लागि जापान आर्कषक गन्तव्य बनेको छ ।

जापान सरकारले आफ्नो स्वेतपत्रमार्फत जापानमा २० वर्षदेखि कामदारको अभाव हुँदै गएको र त्यो अभाव पछिल्लो समय झन् चुलिँदै गएको भनेको थियो ।

अहिले जापान सरकार अभाव भएको कामदार परिपूर्तिका लागि नेपालसहित विभिन्न देशसँग आफ्ना देशमा कामदार लैजाने विषयमा चरणबद्ध रूपमा छलफल गरिरहेको छ ।

जापान आगामी मार्चदेखि कामदार आफ्नो देश भित्र्याउने योजनामा छ ।

विदेशी कामदार भित्र्याउन जापान सरकारले सन् २०१९ का लागि १६ दशमलब ३ अर्ब जापानी येन बजेट छुट्याएको छ । जापानले विभिन्न १४ वटा क्षेत्रका लागि विदेशी कामदार लैजाने नीति कार्यान्वयनमा ल्याएको हो ।

नर्सिङ केयर, रेष्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा विदेशी कामदारको माग बढी भएकाले जापान सरकारले सो क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ।

कम्तीमा ३ लाख ४५ हजार १ सय ५० आप्रवासी कामदारलाई रोजगार भिसाअन्तर्गत आफ्नो देशमा भित्र्याउने जापान सरकारको लक्ष्य रहेको छ । सुरुमा अप्रिल महिनादेखि नर्सिङ केयर, लजिङ तथा रेष्टुरेन्टका लागि भाषा परीक्षा लिइने योजना छ । बाँकी ११ क्षेत्रमा सन् २०२० को मार्चसम्म क्रमशः परीक्षा लिइने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी गोकर्ण विष्टले सम्हालेदेखि नै जापानमा नेपाली कामदारका लागि ढोका खुला गर्न पहल अघि बढेको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि आफ्नो जापान भ्रमणको क्रममा समेत यस विषयलाई उच्च प्राथमिकताका साथ उठाएका थिए । जसअनुसार कामदार भित्र्याउने देशको सूचीमा जापानले नेपाललाई पनि समावेश गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com